Dhulikhel Eco Banner new

सेबोन नेतृत्व चयन अन्तिम मोडमा, आजै मन्त्रिपरिषद्मा तीन नाम सिफारिस हुने सम्भावना

806
shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले संक्षिप्त सूचीमा परेका चार उम्मेदवारसँग कार्ययोजना प्रस्तुतीकरण र छलफल सम्पन्न गरेपछि अब अन्तिम सिफारिसको तयारी थालेको हो। समितिले मूल्यांकन प्रक्रिया लगभग टुंग्याइसकेको र अब उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ।

बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलमा उम्मेदवारहरूले सेबोनको भावी कार्यदिशा, पूँजी बजार सुधार, लगानीकर्ता हित संरक्षण तथा नियामकीय क्षमता विस्तारका विषयमा आफ्नो योजना प्रस्तुत गरेका थिए। छलफल दिउँसो १ बजेदेखि सुरु भएर करिब डेढ घण्टा चलेको बताइएको छ। प्रस्तुतीकरणका क्रममा उम्मेदवारहरूले बजारमा पारदर्शिता बढाउने, नीतिगत स्थिरता कायम गर्ने र लगानीकर्ताको विश्वास पुनःस्थापित गर्ने विषयलाई प्राथमिकतामा राखेका थिए।

अन्तिम प्रतिस्पर्धामा रहेका चार जनामध्ये मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्टलाई बलिया दाबेदारका रूपमा हेरिएको छ। दुवै जना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। बजार वृत्तमा उनीहरूको अनुभव, नियामकीय समझ र वित्तीय क्षेत्रसँगको लामो संलग्नतालाई मुख्य आधार मानेर चर्चा भइरहेको छ।

यता डा. गोपाल भट्टको उम्मेदवारीपछि अध्यक्ष छनोट समितिका सदस्य गुणाकर भट्टले राजीनामा दिएको विषयले पनि चर्चा पाएको छ। स्वार्थ बाझिने अवस्था आउन सक्ने भन्दै उनले पदबाट अलग भएको बताइएको छ। यद्यपि यस विषयमा औपचारिक धारणा भने सार्वजनिक गरिएको छैन।

यसपटक अध्यक्ष छनोट प्रक्रियामा प्रयोग गरिएको शब्दावली पनि चासोको विषय बनेको छ। अघिल्ला नियुक्ति प्रक्रियामा ‘अन्तर्वार्ता’ भनिने चरणलाई यसपटक ‘छलफल’ भनिएको छ। नयाँ सरकार गठनपछि प्रक्रियामा देखिएको यो भाषागत परिवर्तनलाई कतिपयले प्रशासनिक शैलीको फेरबदलका रूपमा व्याख्या गरेका छन्।

अध्यक्ष पदका लागि परेको ४७ आवेदनमध्येबाट चार जना अन्तिम सूचीमा परेका हुन्। सूचीमा सेबोनका पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, हालका कार्यकारी निर्देशक विनयदेव आचार्य, तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकद्वय मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट रहेका छन्।

कानुनी व्यवस्थाअनुसार सिफारिस समितिले अन्तिम मूल्यांकनपछि तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाउनुपर्ने हुन्छ। मन्त्रिपरिषद्ले तीमध्येबाट एक जनालाई सेबोनको अध्यक्ष नियुक्त गर्नेछ। पूँजी बजारमा पछिल्लो समय देखिएको अन्योल, नीतिगत अस्थिरता र लगानीकर्ता मनोबल कमजोर भइरहेका बेला नयाँ नेतृत्वलाई बजारले चासोका साथ हेरिरहेको छ।