Dhulikhel Eco Banner new

समस्याग्रस्त सहकारीका थप ३०४ जना बचतकर्ताले पाए रकम फिर्ता

1.56K
shares

काठमाडौं, १० जेठ । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई रकम वितरण गरेको जनाएको हो।

समितिका अनुसार कृषि सहकारीका ८८ जना तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन्। यसअघि समितिले कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका ७ जना गरी कुल ३७८ जना बचतकर्तालाई रकम फिर्ता गरिसकेको थियो।

समितिले पहिलो चरणमा न्यून बचत भएका साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम वितरण गरिएको जनाएको छ। आगामी दिनमा पनि बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्तालाई रकम फिर्ता गरिने समितिको भनाइ छ।

समितिका अनुसार हाल समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।

पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरुलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेहरुलाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। समितिका अनुसार कुल ७६ हजार बचतकर्तामध्ये १८ हजार जनाले पाँच लाखभन्दा बढी रकम बचत गरेका छन्।