Dhulikhel Eco Banner new

म्याग्दीमा १८० मेगावाट कालीगण्डकी गर्जको निर्माण थालियो

767
shares

म्याग्दी जिल्लाकै अहिलेसम्मकै ठूलो जलविद्युत् परियोजनाको रूपमा चर्चित १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाले आइतबार औपचारिक रूपमा निर्माण कार्य सुरु गरेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा विस्फोटक पदार्थको प्रयोगसहित सुरुङ खन्ने काम शुरू भएसँगै वर्षौंदेखि चर्चामा रहेको यो आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

आयोजना निर्देशक रमण सिंहका अनुसार बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युत्गृह निर्माणस्थलसहित चार ठाउँबाट एकसाथ सुरुङ खन्ने काम अघि बढाइनेछ। कुल पाँच किलोमिटर छ सय मिटर लामो सुरुङ निर्माण हुने यस आयोजनामा सिभिल ठेकेदारको जिम्मेवारी साउथ एसियन इन्फ्रास्ट्रक्चरले पाएको छ र कम्पनी परिचालनमा आइसकेको सिंहले जानकारी दिए।

मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामाको पहिरा थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युत्गृह बनाउने योजना रहेको छ। ‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनामा एक किलोमिटर लामो पेनस्टक पाइपलाइन रहनेछ भने विद्युत्गृहदेखि आउटलेटसम्मको उचाइ ४ सय ८० मिटर कायम गरिएको छ।

पहुँचमार्गको हकमा आठ किलोमिटर सडक पहिले नै निर्माण भइसकेको छ। गाडपारमा बेलिब्रिज जडान हुने तयारी भइरहेको छ भने घरापदेखि दानासम्म २२० केभी क्षमताको एक किलोमिटर प्रसारण लाइन बनाएर यस आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ। प्रवर्द्धक कम्पनी, ठेकेदार र नेपाली सेनाका कार्यालय तथा आवास भवन निर्माण पनि अन्तिम चरणमा पुगेको आयोजना पक्षले जनाएको छ।

४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहने आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए। आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई १० प्रतिशत सेयर लगानीको व्यवस्था गरिएको छ। आयोजना आगामी चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले कालीगण्डकी गर्जलाई म्याग्दी जिल्लाकै अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना भएको बताए। उनका अनुसार नारच्याङ भएर बग्ने नदीहरूमा पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्तीखोला, ३८ मेगावाटको नीलगिरि–१, ७१ मेगावाटको नीलगिरि–२ र ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना पहिले नै सञ्चालनमा आइसकेका छन्।

नारच्याङको सिमाना हुँदै बग्ने कालीगण्डकी नदीमा ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ भने ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना पनि चाँडै निर्माण सुरु हुने तयारीमा रहेको बताइएको छ। कालीगण्डकी गर्जको निर्माण शुरुआत जनप्रतिनिधि, स्थानीय अगुवा, प्रवर्द्धक कम्पनी, निर्माण कम्पनी र सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गरी सम्पन्न गरिएको थियो।