जनउत्थानका बद्नाम सीईओ संस्थाबाट बाहिरिए, डिसिईओले पनि दिए राजीनामा
वि.सं.२०८३ असार २९ सोमवार २०:३२
shares

काठमाडौं, २९ असार । जनउत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले पदबाट राजीनामा दिएका छन् । रायको नेतृत्वमा रहदा संस्था कमजोर बन्दै गएको थियो ।
रायको नेतृत्वमा संस्था कस्तो बन्दैछ भन्ने विषयमा केटिएम भ्वाइसले समाचार प्रकाशन समेत गरेको थियो । संस्था वलियो बनाउने भन्दा पनि आफ्नो स्वार्थ केन्द्रितमा रहेका कारण राय संस्थाभित्रै बद्नाम थिए ।
संस्थाको कुशल नेतृत्व गर्न नसकेको तथ्यांकमै देखिएपछि केही प्रमोटरले सञ्चालक समिति समक्ष गुनासो गरेका थिए । रायप्रति संस्थाका अध्यक्ष डा. मानबहादुर बि.क. नतमस्तक थिए । तर, पछि केही प्रमोटरहरुले दवाव दिएपछि भने अध्यक्ष बि.क.ले नै सीईओलाई मार्ग प्रसस्त गर्न सुझाव दिएको जनउत्थानकै एक संस्थापकले जानकारी दिए ।
‘अध्यक्ष र सीईओको साँठगाँठ राम्रै थियो, तर तथ्यांकले संस्था राम्रो भएको भने देखिएन’ ती संस्थापकले केटिएम भ्वाइससँग भने, ‘हाम्रो दवावले पनि सुरुमा त काम गरेको थिएन, २ दिनअघि एक्कासी काम गरेछ ।’ सुरुमा सीईओ रायप्रति पोजिटिभ रहेका बि.क.ले बर्खास्त हुनसक्ने संकेत गरेपछि राजीनामा दिएको ती संस्थापकको दावी छ ।

संस्थाका कम्पनी सचिव सुनिल कुमार रायले नेप्सेलाई दिएको जानकारी अनुसार सीईओ रायको राजीनामा २७ गते बसेको सञ्चालक समितिले स्वीकृत समेत गरेको छ । उनी आजको मितिबाट अब ३ दिन संस्थामा रहने छन् । बुझ बुझारथका लागि भन्दै सञ्चालक समितिले साउन १ को मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको हो ।
सीईओसँगै डिसीईओ सुर्यप्रसाद उपाध्यायले पनि पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाउदै उनले दिएको राजीनामा सञ्चालक समितिले भोलि मंगलबारदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।
अध्यक्षको भाञ्जा कामू सीईओ
दिनप्रति ओरालो लाग्दै गरेको जनउत्थान लघुवित्त वित्तीय संस्थामा अध्यक्ष मानबहादुरको मनपरी भने अझै बाँकी रहेको संस्थापक लगानीकर्ताकै गुनासो छ । केटिएम भ्वाइसको सम्पर्कमा आएका संस्थापकका अनुसार अध्यक्ष मानबहादुरले रायलाई सीईओबाट हटाए पनि आफ्नै मान्छेलाई कामू सीईओ बनाएका छन् ।
सीईओ र डिसीईओ बाहिरिए पछि इन्द्र बराइलीले कामू सीईओको जिम्बेवारी पाउने भएका छन् । उनी अध्यक्ष मानबहादुरका सहोदर भाञ्जा हुन् । हाल मानव संशाधन विभागका प्रमुख रहेका बराइलीलाई नै सीईओ बनाउने अध्यक्ष मानबहादुरको योजना रहेको ती संस्थापकको गुनासो छ ।















