अनियमित विद्युत् आपूर्तिले रुपन्देहीका उद्योग समस्यामा

2.86K
shares

रुपन्देही, १८ वैशाख । अनियमित विद्युत् आपूर्तिका कारण यस क्षेत्रका व्यवसायी समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले उत्पादनमा कटौती भएपछि उनीहरु चिन्तित भएका हुन् । सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि औद्योगिक क्षेत्र र लुम्बिनी करिडोर क्षेत्रसहित जिल्लाका उद्योगमा विद्युत् सेवा अनियमित भएको हो ।

करिब एक महिनदेखि विद्युत् आपूर्ति नियमित नभएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको छ । पछिल्लो समय लगातार १५ दिनदेखि विद्युत् आपूर्ति नै नभएपछि उद्योगमा उत्पादन बन्द भएको जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गानाले जानकारी दिए । “अहिले सिमेन्ट उत्पादनका लागि उपयुक्त समय हो, यो समयमा उत्पादन हुन नसके भारतीय सिमेन्टले बजार लिन्छ । हाम्रो बजार बिग्रिन्छ र यसले दीर्घकालसम्म समस्या हुन्छ”,उनले भने ।

उद्योगमा उत्पादन बन्द हुँदा कर्मचारीलाई दिनुपर्ने मासिक तलब र बैंकको ब्याज भुक्तानी गर्नसमेत नसक्ने अवस्था सिर्जना हुन लागेको उहाँको गुनासो छ । विद्युत् आपूर्ति बन्द हुँदा लुम्बिनी करिडोरका मात्रै १२ सिमेन्ट र अन्य ठूला उद्योगको उत्पादन ठप्प भएको छ । अघोषित लोडसेडिङले १० दिनदेखि बृज सिमेन्टको उत्पादन पनि बन्द छ । बृज सिमेन्टका प्रबन्धक नुमेन्द्र पौडेलका अनुसार दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगमा विद्युत् आपूर्ति रोकिएपछि प्लान्ट सञ्चालन गर्न सकिएको छैन ।

अनियमित विद्युत् आपूर्ति र लो भोल्टेजको समस्या पुरानै भएपछि अहिले अघोषितरूपमा २४ घण्टा विद्युत् कटौती गर्दा ठूला उद्योग सञ्चालनमा समस्या भएको उहाँको भनाइ छ । उद्योगीले विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकारणसँग पटक–पटक आग्रह गर्र्दै आए पनि समस्या समाधान हुनसकेको छैन ।

प्राधिकरणले समयतालिका बनाएर उद्योग क्षेत्रको विद्युत् आपूर्ति नियमित गर्नुपर्ने माग उनीहरुकोे छ । “प्राधिकरण नेतृत्वको असक्षमताका कारण पटक–पटक उद्योगीहरूले पीडा भोग्नुपरेको छ । हाल विद्युत् आपूर्तिमा देखिएको समस्या नियोजित हो”, उद्योगी बाबुराम बोहोरा भन्नुहुन्छ, “समस्या सामाधानमा छिट्टै कदम नचालिए सङ्घ चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौँ ।”

विद्युत् नियमित नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगी बताउँछन् । यस्तो अवस्था आउँदा पनि विद्युत् प्राधिकरण जिम्मेवार बन्न नसकेको गुनासो उनीहरूको छ । आपूर्तिको समस्या समाधान गर्न ढिलाइ गरिए आफूहरु उद्योगमा ताला लगाएर सडकमा आउने उद्योगीहरुको चेतावनी छ । रुपन्देही उद्योग सङ्घ, उद्योग वाणिज्य सङ्घ र सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर धेरै पटक ध्यानाकर्षण गराउने काम गरे पनि नियमित विद्युत् आपूर्ति हुन नसकेको उद्योगीहरूको गुनासो छ ।

कोभिड महामारीका कारण थला परेका उद्योग विस्तारै उठ्न थाले पनि विद्युत्का कारण धरासायी हुने अवस्थामा छन् । रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले प्राधिकरणले बिनासूचना विद्युत् आपूर्ति बन्द गर्ने र नियमित विद्युत् नदिएका कारण उद्योगहरूले ठूलो क्षति व्यहोर्नु परिरेहको बताए । विद्युत् वितरणमा भइरहेको समस्यालाई तत्काल समाधान गर्न उहाँको आग्रह छ । “कोरोनाले थलिएका उद्योग विस्तारै उठ्न थालेका छन्, यस्तो अवस्थामा अनियमित विद्युत् आपूर्तिले उद्योग धरासयी हुन्छन्”, उनले बताए ।