Dhulikhel Eco Banner new
NCHL Banner 2081

सुरक्षामा कडाई : सुनसरीमा सेना परिचालन

3.55K
shares

धरान, १८ वैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सफल पार्न सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्वी पृतनामा रहेको कृष्णदल गणले सुनसरीको धरान, इटहरी र इनरुवामा कम्पनी अपरेटिङ बेस स्थापना गरी सेना परिचालन गरिएको हो । निर्वाचन आउन अब १२ दिन बाँकी छ ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी थिइन् ।

सुनसरीको धरान , इटहरी नेपाली सेनाको कम्पनी अपरेटिङ बेस स्थापना गरी जिल्लामा नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । उनले स्थानीय निर्वाचन सफल बनाउन र सुनसरीको शान्ति सुरक्षा मजबुद बनाउनका लागि चौबिसै घण्टा सेना परिचालन गरिएको जानकारी दिए ।

सुनसरीमा सेनाले गस्ती सुरु गरेसँगै शान्ति सुरक्षामा कडाइ गरिएको छ । जसका कारण स्थानीय निर्वाचन शान्तिपूर्ण सम्पन्न हुने जिल्लाबासीले अपेक्षा गरेका छन् । स्थानीय निर्वाचनको सुरक्षाका लागि सुनसरीका धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, रामधुनी, बराहक्षेत्र, दुहवी नगरपालिका तथा कोसी, भोक्राहा नर्सिङ, हरिनगरा, गडि, बर्जु, देवानगन्ज गाउँपालिकामा नेपाली सेनाले पेट्रोलिङ गस्ती थालेको नेपाली सेनाको कृष्णदल गण इटहरीका प्रमुख सेनानी अर्जुन दुलालले जानकारी दिए ।

उनले धरान, इटहरी र इनरुवामा रहेको कम्पनी अपरेटिङ बेसबाट थप तीन–तीनवटाका दरले ९ वटा पट्रोलिङ गस्ती परिचालन गरिएको बताए । स्थानीय निर्वाचन सफल पार्न र शान्ति सुरक्षामा कुनै कमिकमजोरी हुन नदिनका लागि सेनाले चौबिसै घण्टा निगरानी बढाएको प्रमुख सेनानी दुलालको भनाइ छ । उनले भारतसँग सिमाना जोडिएका सीमा क्षेत्रको सुरक्षामा समेत विशेष फोकस गरी सेनाले गस्ती बढाएको बताए । सेनाले स्थापना गरेको कम्पनी अपरेटिङ बेसमा सेनानी (मेजर) नेतृत्वमा एकसय १० जना जनशक्ति परिचालन गरिएको प्रमुख सेनानी दुलालले जानकारी दिए ।