Dhulikhel Eco Banner new
NCHL Banner 2081

लोडसेडिङविरुद्ध पूर्वका उद्योगीद्वारा आन्दोलन घोषणा

3.82K
shares

विराटनगर,१८ वैशाख। नेपाल विद्युत प्राधिकरणले सूचना बिनै लोडसेडिङ गरेको भन्दै पूर्वका उद्योगीहरूले आन्दोलन घोषणा गरेका छन् ।मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ तथा नेपाल उद्योग परिसंघ प्रदेश–१ ले विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेका हुन् ।

अघोषित लोडसेडिङका कारण उद्योग सञ्चालन गर्ने अवस्था नरहेको भन्दै निजी क्षेत्रसँग सम्बन्धित विभिन्न तीनवटा संगठनमा आबद्ध उद्योगीले आन्दोलनको घोषणा गरेका हुन् । । उनीहरूले राखेका माग सम्बोधन गर्नका लागि मंगलबारसम्मको अल्टिमेटम दिएका छन् । विगत केही दिनदेखि पूर्वसूचना बिना औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ हुन थालेपछि आन्दोलनमा उत्रन बाध्य भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । “लोडसेडिङबाट हामी आक्रान्त भएका छौं,” रिजालले भने, “विद्युत प्राधिकरणले हाम्रो माग नसुनेका कारण बाध्य भएर आन्दोलनको घोषणा गर्नुपरेको हो ।”

लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने, स्वदेशी विद्युत उत्पादन क्षमताको अधिकतम उपयोग गर्नुपर्ने, विद्युतको न्यायोचित वितरण गर्नुपर्ने, विद्युतको डिमान्ड शुल्क खारेज गरिनुपर्ने र कूटनैतिक पहलबाट समाधान खोज्नुपर्नेलगायतका ५ बुँदे सुझाव प्रस्तुत गरेका छन् । यससँगै तीनै संगठनले बुधबारदेखि नेपाल विद्युत प्राधिकरण विराटनगरमा तालाबन्दी, धर्नालगायतका आन्दोलनका कार्यक्रम सुरु गर्ने भएका छन् ।

विभिन्न समस्याका कारण नेपालमा लगानीको वातावरणमा ह्रास हुँदै गएको परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरे बताउँछन् । उनकै शब्दमा उद्योगीहरूको समय उत्पादनमा भन्दा समस्या समाधानमा बढी खर्च हुने गरेको छ । “तरलता अभाव र बैंकको चर्को ब्याजले थिचिएका उद्योगीमाथि फेरि अर्को समस्या थपिएको छ,” घिमिरेले भने, “सरकारले कि त समस्या समाधान गरोस् कि त उद्योग बन्द गर्ने अनुमति देओस् । यस्तो अवस्थामा हामी उद्योग चलाउन सक्दैनौं ।”