त्रियुगाका मेयर उम्मेदवार भ्याट नतिर्ने सूचीमा, उम्मेदवारी खारेज गर्न माग

942
shares

काठमाडौं, १९ वैशाख । उदयपुरको त्रियुगा नगरपालिकामा मेयरका लागि उम्मेदवार बनेका बसन्त बस्नेत विरुद्ध सरकारलाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर नतिर्नेको सूचीमा रहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । मेयरका लागि अर्का उम्मेदवार भागवत राउतले बस्नेत विरुद्ध आयोगमा उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन् ।

बस्नेत नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका हुन् भने राउत नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका व्यक्ति हुन् । कांग्रेस उम्मेदवार बस्नेत स्थानीय ठेकेदार समेत हुन् । उनको कम्पनी एपेक्स इन्द्रेणी जेभी र उनको नाम किटान नै गरेर आन्तरिक राजश्व कार्यालय सिरहाले चैत २७ गते मूल्य अभिवृद्धि कर वक्यौता बाँकी रहेको सार्वजनिक सूचना निकालेको थियो । मूल्य अभिवृद्धि कर तिनै १५ दिनको समयसीमा दिदै राजश्व कार्यालय सिरहाले बैंक कारोबार, घरजग्गा कारोबार लगायत रोक्का राख्ने चेतावनी समेत दिएको छ ।

एमाले उम्मेदवार राउतले आयोगमा उजुरी गरिएको र आयोगले उनको उम्मेदवारी खारेज गर्नुपर्ने माग गरे । कर तिर्न बक्यौता रहेका ठेकेदारहरु उम्मेदवार बन्नै नपाउने स्पष्ट कानूनी व्यवस्था रहेको भन्दै उनले आयोग उम्मेदवारी खारेज गर्नेमा आफू ढुक्क रहेको उनले बताए । ‘जुवातामा पनि पक्राउ परेर दण्ड जरिवाना भोगेको मान्छे हुनुहुन्छ, राज्यलाई तिर्ने कर पनि तिर्नु भएको छैन’ उनले भने, ‘उहाँको उम्मेदवारी कायम रहन सक्ने कुनै आधार छैन ।’

मूख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरका प्रवक्ता देवराज भट्टराई सोमबार साझ उजुरी परेको दर्ता भएको पुष्टि गरे । उजुरीका विषयमा छानविन हुन भने बाँकी रहेको उनले बताए । ‘अब उजुरीका विषयमा के गर्ने भनेर श्रीमान् (मूख्य निर्वाचन अधिकृत) ले निर्णय गर्नुहुनेछ’ प्रवक्ता भट्टराईले भने, ‘यस विषयमा भोलिमात्रै थप जानकारी आउनेछ ।’

Kumari Banner