जसको नीति उसको नेतृत्व निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन हुन्छ– प्रचण्ड
वि.सं.२०७९ वैशाख २० मंगलवार १७:३४
shares
काठमाडौँ, २० वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस सेन्टर नेपाल न्युज बैंकसँगको कुराकानीका क्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताउनु भयो ।
स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनमा लागेर माओवादीले नेतृत्व छाडेको टिप्पणी आइरहेका बेला प्रचण्डले सो कुरा बताउनु भएको हो ।
उहाँले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताउनु भयो । माओवादीले जसको नीति उसको नेतृत्व भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन गर्ने पनि उहाँको भनाई छ ।
प्रचण्डले भने, ‘माओवादी केन्द्रको अध्यक्षको हैसियतले म के ठान्छु भने यो समग्र प्रक्रियाको नेतृत्वमा म छु भनेरै मैले महसुस गर्छु । यो गठबन्धन बचाउनको निम्ति रातदिन मैले खटेर काम गरेको तपाईंहरुले देख्नुभएकै छ । गठबन्धनलाई शुरुदेखि नै तोड्ने अनेक षड्यन्त्रहरु भए । यसलाई बचाउनको लागि पनि माओवादी केन्द्रले नै मुख्य भूमिका खेलेको कुरा आम नेपाली जनतालाई थाहा भइसकेको छ । राजनीतिज्ञलाई पनि थाहा छ । पार्टीहरुलाई पनि थाहा छ । तर भन्न चाहने र नचाहने मात्रै कुरा हो । वस्तुतः माओवादी केन्द्रले नै अहिले पनि राजनीतिक एजेण्डाको, गठबन्धनको, सरकारको, यी सबै प्रक्रियाको पनि नेतृत्वदायी भूमिका खेलिरहेको छ ।’
सबैभन्दा पहिलो कुरा निर्वाचनतिर जनताको अभिरुचि बढ्दै गएको देखेको छु । सबै राजनीतिक दलहरु आफ्ना एजेण्डा लिएर परिचालित छन् । वातावरण सकारात्मक नै बन्दै गएको महसुुस गरेको छु । यसपटकको निर्वाचनको मुख्य विशेषता के हो भने संविधान घोषणा भइसकेपछि पहिलो निर्वाचन सामान्यतः संविधान कार्यान्वयनको प्रक्रियाको एउटा आधार खडा गर्ने निर्वाचनजस्तो थियो । तर यसपटकको निर्वाचन महत्वपूर्ण छ । किनकि गत सालदेखि संविधानलाई नै उल्ट्याउन खोज्ने र नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरु समावेशी, समानुपातिक प्रणाली, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता जे विशेषता छन्, तिनलाई उल्ट्याउन खोज्ने, जनताले प्राप्त गरेका मौलिक अधिकारहरु जसले आर्थिक समृद्धिको आधारको भूमिका पनि खेल्छन्, तिनलाई पनि उल्ट्याउन खोज्ने एउटा प्रवृत्ति देखा प¥यो । हामी सबैलाई थाहा छ, प्रतिगमन विरोधी आन्दोलन नै गर्नुपर्ने स्थिति भयो ।
अहिले पनि दुइटा गठबन्धन जस्तो भएको छ, दुइटा मोर्चा जस्तो भएको छ यसपटकको निर्वाचनमा । एकातिर संविधानका मूलभूत विशेषता र मान्यतालाई अस्वीकार गर्ने प्रतिगामी प्रवृत्ति र त्यस किसिमको मोर्चा अगाडि आएको छ भने अर्कोतिर प्रतिगमनविरोधी आन्दोलनको क्रममा लोकतन्त्रको रक्षा, संविधानको रक्षा र राष्ट्रको रक्षा गर्ने भनेर गठबन्धन बन्यो– वाम लोकतान्त्रिक गठबन्धन । यी दुई गठबन्धन आमनेसामने छन् । त्यसकारण यो पटकको निर्वाचनको मूलभूत विशेषता संविधानका उपलब्धिहरुलाई रक्षा गर्ने र अझ परिमार्जन गर्ने एउटा विचार, प्रवृत्ति । अर्कोतिर, यो संविधानलाई उल्ट्याउन खोज्ने र देशलाई कही न कही पछाडि धकेल्न खोज्ने प्रवृत्ति अर्कोतिर भएर चुनाव भइरहेको छ । बीचमा अरुहरु जो साना पार्टीहरु छन्, तिनीहरुको खासै यसमा तात्विक भूमिका हुन्छ भन्ने मलाई लाग्दैन । त्यसकारण एउटा प्रतिगमनकारी र अर्को अग्रगमनकारी बीचको संघर्ष नै यसपटकको स्थानीय तहको निर्वाचनका साथै प्रदेश र संघको निर्वाचनसम्म पुग्दा पनि यही दुइटा प्रवृत्ति र दुइटा मोर्चाकै बीचमा मुख्य प्रतिस्पर्धा हुन्छ ।
अब निर्वाचनको दिन आउन १० दिन मात्रै बाँकी छ, तपाई माओवादी केन्द्रको अध्यक्ष र सत्तारुढ गठबन्धनको प्रमुख नेताको हैसियतले निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुले जित्ने सम्भावना कति देख्नुभएको छ ?
हामीले जहाँ जहाँ सहमति गरेका छौं, त्यहाँ जित सुनिश्चित देख्छु । जस्तो महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा, जहाँ गठबन्धनमा समझदारी बनेको छ, त्यहाँ गठबन्धनको विजय सुनिश्चित देखिन्छ । अर्को हामीले गठबन्धनमा छलफल गर्दा के भनेका थियौं भने हामीमध्ये कसैले जित्ने स्थिति ग्यारेन्टी छ भन्ने लाग्छ भने गठबन्धनभित्रै प्रतिस्पर्धा गर्न सकिन्छ भनिएको थियो । यो कुरालाई हामीले खुला नै राखेका थियौं । कतिपय मानिसले त्यसलाई ‘ल गठबन्धन मिलेन’ भनेर नकारात्मक प्रचार गर्ने गरेको पनि म देख्छु तर त्यस्तो होइन । गठबन्धनको केन्द्र वा संयन्त्रमा छलफल गर्दा जहाँ कुरो मिलेको छैन, त्यहाँ प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धा गर्दा यो संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरताका बीचमा नै प्रतिस्पर्धा गर्ने र जित सुनिश्चित गर्ने भनिएको हुनाले मलाई लाग्छ, गठबन्धनको पक्षमा नै अब माहोल बन्दै गएको छ । आउने १० दिनभित्र देशैभरि नयाँ परिस्थिति बन्छ र गठबन्धन विजयी हुन्छ ।
अहिलेसम्म नेपालमा जुन परिवर्तनका एजेण्डाहरु छन्, त्यसको सूत्राधार माओवादी केन्द्र र त्यसको नेतृत्व तपाईलाई जान्छ । तर, निर्वाचनमा गठबन्धन बन्दै गर्दा र उम्मेदवार मनोनयन गर्दै गर्दा माओवादीले जसको नीति उसको नेतृत्व भन्यो तर नेतृत्व त छोडियो भन्ने आलोचना छ नि ? यो नारा कसरी कार्यान्वयन हुन्छ ?
यो विषय अलि गम्भीर र संवेदनशील विषय छ । पहिलो कुरा, नेतृत्व भनेको के ? नेतृत्व भनेको विचारको नेतृत्व, राजनीतिक मुद्धाको नेतृत्व, देशको राजनीतिलाई एउटा नयाँ मोड दिने, गति दिने नेतृत्व त्यसरी भनियो भने माओवादीले नेतृत्व कसैलाई पनि छोडेको छैन । माओवादीले नै नेतृत्व गरिराखेको छ । तपाई हेर्नुभयो भने यो गठबन्धन निर्माण कुन परिस्थितिमा भयो ? प्रतिगमनको खतरा कहाँसम्म पुगिसकेको थियो र देश दुर्घटनामा जानै लागेको बेलामा कसको पहल र नेतृत्वमा यसको रक्षा भयो भनेर तपाईले हेर्नुभयो भने चाहे सडक आन्दोलनमा हेर्नुस्, चाहे गठबन्धन निर्माण प्रक्रियामै हेर्नुस् माओवादी केन्द्रले नै नेतृत्व गरेको छ । अहिले निर्वाचनको यो समग्र प्रक्रियामा पनि हामीले नेतृत्व नै गरिराखेका छौं भन्ने मलाई लाग्छ । मानिसहरु जसले यसको गहिराईमा गएर चीजलाई बुझेका छैनन् या बुझ्न चाहेका छैनन्, उनीहरुले लगाउने आरोप या प्रश्न त एउटा कुरा हो । तर, मेरो ठाउँबाट मैले हेर्दा यो समग्र प्रक्रियामा माओवादीले नै नेतृत्व गरिराखेको छ ।
जहाँसम्म तपाईंले संख्या इत्यादिको कुरा गर्नुभयो भने त्यो तथ्याङ्क हिजो ०७४ को चुनावलाई पनि ध्यान दिने, अरु पनि ध्यान दिने धेरै धेरै कारणले काम गरेका छन् । त्यसकारण कहिलेकाँही हामीले नै प्रस्तावित गरेर तपाईं प्रधानमन्त्री हुनुप¥यो भनेर नेपाली कांग्रेसलाई भन्यौं । संख्यामा पनि हामीले भनेका छौं । त्यसकारण यो समग्र प्रक्रियाको नेतृत्व माओवादीले नै गरिराखेको छ । तपाईंले मलाई भन्नुभयो, म माओवादी केन्द्रको अध्यक्षको हैसियतले म के ठान्छु भने यो समग्र प्रक्रियाको नेतृत्वमा म छु भनेरै मैले महसुस गर्छु । यो गठबन्धन बचाउनको निम्ति रातदिन मैले खटेर काम गरेको तपाईंहरुले देख्नुभएकै छ । गठबन्धनलाई शुरुदेखि नै तोड्ने अनेक षड्यन्त्रहरु भए । यसलाई बचाउनको लागि पनि माओवादी केन्द्रले नै मुख्य भूमिका खेलेको कुरा आम नेपाली जनतालाई थाहा भइसकेको छ । राजनीतिज्ञलाई पनि थाहा छ । पार्टीहरुलाई पनि थाहा छ । तर भन्न चाहने र नचाहने मात्रै कुरा हो । वस्तुतः माओवादी केन्द्रले नै अहिले पनि राजनीतिक एजेण्डाको, गठबन्धनको, सरकारको र यी सबै प्रक्रियाको नेतृत्वदायी भूमिका खेलिरहेको छ ।
संख्याको कुरा गर्दा अघिल्लो निर्वाचनमा ७५३ तहमध्ये १०६ स्थानमा माओवादीले प्रमुख स्थान विजय गरेको थियो, यसपटक त्यो संख्या कति जति बढ्ला जस्तो लाग्छ ?
मैले सबै प्रदेशका जिम्मेवार साथीहरु, जिल्लाका प्रतिनिधिहरुसँग कुरा गर्दा सबैको भनाई के छ भने हामी पहिलाको भन्दा दोब्बर बनाउँछौं । सबै प्रदेशले भनेको र टिपेर पनि दिनुभएको छ, हिजो बेलुका मैले सबै हेरें, पहिलाको जति छ, त्यो भन्दा डबल हुन्छ । अब पालिकाको मोटामोटी रिपोर्ट हेर्दा पनि पहिलाको भन्दा हाम्रो गुणात्मक ढंगले बढ्छ । त्यो कुरा पक्का हो ।
अघिल्लो चुनावमा माओवादी एमालेसँग मिलेर वाम एकता भनेर आयो र अहिले फेरि कांग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धन भनेर आयोे । माओवादी एक्लैले आफ्नो अस्तित्व निर्माण गर्न नसक्ने अवस्थामा पुगेको हो ?
त्यस्तो होइन । त्यसो भन्यो भने त कोही पनि नसक्ने भयो । हिजो कांग्रेस हामीसँग किन मिल्यो ? एमाले हामीसँग फेरि किन मिल्न परेको हो ? तपाईको प्रश्नअनुसार त कोही पनि एक्लै लड्न सकेनन् नि । अहिले हाम्रो गठबन्धन छ, एमाले शुरु शुरुमा भन्ने गथ्र्यो, हामी त एक्लै लड्छौं । अहिले त झन् ८÷९ वटा पार्टी÷समूह नै जम्मा गरेर आयो । उसले पनि एक्लै लड्ने हिम्मत गरेन । उसलाई पनि चाहियो गठबन्धन । काँग्रेसलाई पनि चाहियो गठबन्धन । त्यसैले माओवादीलाई मात्रै चाहिएको भन्न मिल्छ र ? बरु माओवादीले त यो सबै प्रक्रियाको नेतृत्व लिएर अगाडि पो बढेको छ । त्यसलाई हेर्न प¥यो । त्यसकारण हाम्रो संविधान र हाम्रो निर्वाचन प्रणाली जस्तो छ, त्यसले गठबन्धन आवश्यक बनायो ।
अर्को कुरा, गठबन्धन फेरि कुन विचारको आधारमा, कुन राजनीतिक एजेण्डाको आधारमा भन्ने हो । अहिले मैले हेर्दा जो शान्ति सम्झौताका पक्षमा, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा छन् । हिजो १२ बुँदे समझदारीदेखिका यात्रीहरु बीचको गठबन्धन वैज्ञानिक, स्वभाविक र गतिशील गठबन्धन हो । त्यसको विरुद्ध जाने गठबन्धन प्रतिगमनतिर जाने गठबन्धन हो । त्यसकारण यहाँ माओवादी मात्रै एक्लै आँट नगरेको भन्ने होइन । एक्लै त कसैले आँट गर्ने स्थिति छैन अहिले देशको । हामीले भनेका छौं यदि निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुने हो भने यो स्थिति हुँदैन । सबै आ–आफ्नो शक्ति अनुसार लड्ने अनि त्यसपछि जति मत पाइन्छ, त्यहीँ मतभार अनुसार भागबण्डा हुन्थ्यो । त्यस्तो अहिले छैन । हाम्रो संविधान र निर्वाचन प्रणालीले नै पार्टीहरुलाई गठबन्धनमा जाने र गठबन्धनको आधारमा विचार र मुद्धा स्थापित गर्न प्रेरित ग¥या छ । यसकारण यो सवाल माओवादी केन्द्रसँग मात्र होइन, सबै देशका राजनीतिक दलसँग हो ।
यो स्थानीय निर्वाचनले माओवादी केन्द्रलाई थप सुदृढ गर्छ भन्ने विश्वास छ ?
मलाई यो निर्वाचनले माओवादी केन्द्रलाई पहिलेभन्दा धेरै नै बढी सुदृढ गर्छ भन्ने लागेको छ । यो निर्वाचनबाट पहिले भन्दा गुणात्मक रुपले प्रगतिमा हामी हुनेछौं भन्ने विश्वास छ ।
देशभर स्थानीय तहको निर्वाचनको मैदानमा उत्रिएका उम्मेदवारहरुलाई के भन्न चाहनुहुन्छ ?
म फेरि पनि के भन्न चाहन्छु भने देश यति लामो राजनीतिक प्रक्रियाबाट गुज्रिएर संविधान कार्यान्वयनको क्रममा दोश्रो पटक स्थानीय निर्वाचनमा हेलिएको छ । होमिएको छ । हामी सबैको उद्धेश्य हुनुपर्छ यो निर्वाचनबाट राष्ट्रको एकतालाई खँदिलो र मजबुत बनाउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ वलियो बनाउने, संविधानका सकारात्मक सबै परिवर्तनको उपलब्धिको रक्षा गर्ने र यसलाई अझ परिमार्जन र परिस्कृतको लागि वातावरण बनाउने । त्यसैगरी स्थानीय तहमा प्राकृतिक साधन श्रोत र मानवीय श्रोत सबैको सदुपयोग गरेर स्थानीय तहलाई नै भावी समाजवादको राज्यको भ्रुणको रुपमा विकास गर्ने । यो उद्धेश्य सबै दलको हुनुपर्छ । हामी संविधान मान्छौं भनेर प्रतिवद्धता गरेरका र हस्ताक्षर गरेका सबै पार्टीको दायित्व हुन आउँछ, स्थानीय तहको निर्वाचनमा संविधानले निर्दिष्ट गरेअनुसार समाजवादउन्मुख राज्यका भ्रुणहरु स्थानीय तहबाटै बन्ने हो ।
संविधानले स्थानीय तहलाई स्थानीय सरकारको रुपमा परिभाषित गरेको छ र त्यसलाई त्यसरी नै अधिकारहरुको प्रत्यायोजन पनि गरिएको छ । त्यसकारण प्राकृतिक साधन श्रोतको सदुपयोगदेखि त्यसको सञ्चालन, संरक्षण र विकास साथै समुदायको हक अधिकारलाई अझ बढी सुदृढ गर्ने र विकासको एउटा नयाँ गति जगैदेखि पैदा गर्ने, जनताको आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारी सबै विषयमा ध्यान केन्द्रीत गर्ने र अघि भनेजस्तै भावी समाजवादको भ्रुणको रुपमा एउटा आधारशीला निर्माणको रुपमा यो निर्वाचनलाई लिनुपर्दछ त्यसैले म सबै उमेदवार साथीहरुलाई यहि भूमिका पूरा गर्न दृढतापुर्वक उत्साहको साथ अघि बढ्न र निर्वाचन सफल बनाउन अपिल गर्दछु ।
तपाई गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पनि हुनुहुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा प्रमुख भूमिका खेल्नुभएको नेता पनि तपाई हो । अहिले स्थानीय तहको निर्वाचनको अवसरमा सहभागी हुने मतदाताहरुलाई के अपिल गर्न चाहनुहुन्छ ?
मलाई लाग्छ नेपाली मतदाताहरु, आम नेपाली जनताले देशको राजनीतिक उतारचढाव, घुम्ती मोडहरु सबै अनुभव गर्नुभएको छ । बुझ्नुभएको छ । यो राष्ट्रलाई अप्ठ्यारो परेको बेला कसले बचाएको छ, कुन पार्टीले कुन नेतृत्वले भन्ने कुरा पनि गएको १५÷२० वर्षको अवधिमा जनताले नजीकबाट अनुभुत गरेको छ भन्ने मलाई विश्वास छ । त्यसकारण आम मतदाता जो स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ, उहाँहरुलाई मैले गर्ने अपिल के हो भने यो परिवर्तनको रक्षा गर्ने र सुदृढ गर्ने एउटा विचार, प्रवृत्ति र नेतृत्व छ भने अर्कोतर्फ एउटा यसलाई परिवर्तनलाई नरुचाउने र फर्केर पुरानै प्रवृत्तितिर लैजान खोज्ने, पुरानै निरंकुशता, पुरानै अराजकतातिर जान खोज्ने एउटा विचार प्रवृत्ति र नेतृत्व छ ।
आम नेपाली मतदाताले इतिहासको यो विन्दुमा उभिएर यो परिवर्तनको रक्षा गर्ने जसमा नेपाली जनताका हजारौं छोराछोरीहरुले बलिदान दिनुभएको छ । यो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, हजारौं बेपत्ता हुनुभएको छ्, हजारौं घाइते अपांग हुनुभएको छ । र, लाखौं करोडौं यसमा सहभागी हुनुभएको छ त्यसकारण यसको पक्षमा को छ र को छैन, को यसलाई रक्षा सुदृढ गर्न चाहन्छ र को यसलाई भत्काउन र सिध्यान खोजेको छ यसलाई गहिरोसँग विचार गरी कसैको लोभ, लालच, दवाव, धम्की, प्रलोभन आदिको पछाडि नलागिकन आफ्नो अन्तरआत्माको आवाज व्यक्त गरेर कसले राष्ट्र र जनतालाई एकतावद्ध पार्न खोजेको छ, कसले जनताको सेवा गर्न खोजेको छ भन्ने कुरालाई विचार गरेर मतदान गर्न म सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछु ।