‘आयात घटाउने आधार नै कमजोर छ’: गभर्नर अधिकारी

792
shares

काठमाडौँ, २१ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताए। उनले विगत दुई बर्ष अन्य आर्थिक सूचकांक राम्रो भएपनि आर्थिक बृद्धि भने अपेक्षा अनुसार हुन नसकेको उल्लेख गरे।
कोभिड पश्चात चलायमान भएको अर्थतन्त्रले आर्थिक वृद्धि बढाउने अनुमान भएपनि लक्ष्य अनुसार हुन नसकेको बताए। प्रज्ञा भवन कमलादीमा बुधबार लेखापढी व्यवसायीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन बाह्य अवस्थामा दबाब रहेपनि आर्थिक बृद्धिदर ५.८ प्रतिशत पुगेको बताए।

पछिल्लो १० वर्षको औसतलाई मूल्यांकन गर्दा आर्थिक वृद्धिको दर सन्तोषषजनक नै रहेको उनले बताए। यद्यपि आर्थिक वृद्धिलाई सबल बनाउन थप प्रयास आवश्यक रहेको भनाइ उनले राखे। सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य सात प्रतिशत राखेको छ

इन्धन मूल्यमा देखिएको अत्यधिक मूल्य वृद्धिले विश्व बजारमा मुद्रास्फीति बढेको भन्दै त्यसको असर नेपालमा पनि परेको गभर्नरले बताए। अमेरिकामा ४० वर्षपछि ८ प्रतिशतको मुद्रास्फीतिमा रहेको उदाहरण दिँदै गभर्नर अधिकारीले प्रणालीमा अत्यधिक ’मनि सप्लाई’ भएको कारण मात्र नभई इन्धन मूल्यको वृद्धिले अधिकांश विश्व बजारमा मुद्रास्फीति बढेको तर्क दिए।

बाह्य क्षेत्र नै अहिलेको लागि सबै भन्दा चुनौतीको विषय रहेको बताएका उनले आयातको वृद्धिलाई निर्यातको आकारले धन्न नसक्ने समेत उल्लेख गरे। निर्यातले आयातलाई धान्न नसक्ने हुँदा रेमिट्यान्सको योगदान आयातमा परेको उनले खुलाए।

आयात र निर्यातको विशाल अन्तरलाई कसरी कम गर्ने भन्ने उनले प्रश्न उठाए। ’मुलुकको सबैभन्दा ठूलो चुनौती यही हो,’ उनले भने। आज भोलिको मात्र नभएर भविष्यका लागि समेत सरोकारवालाहरुसँग उक्त प्रश्नको जवाफ नभएको भन्दै उनले चिन्ता व्यक्त गरे। ’आयातको आकारलाई साँघुरो बनाउन र निर्यात बढाउने बेस अझै बनाइनसकेको अवस्था छ,’ उनले भने।

वैदेशिक रोजगारीमा गएका नेपालीको विप्रेषणले आयातलाई सधै धान्न नसक्ने पनि उनले बताएका छन्। ’यस विषयमा सजग हुन आवश्यक छ, आयातको विकल्प खोज्नु जरूरी छ,’ उनले भने। आयात अत्यन्तै सहज भएका कारण शोधानानन्तर नोक्सानीमा रहेको तर्क अधिकारीले गरे। आयात सहज भएकै कारण चालु खातासमेत घाटामा पुगेको र खुद मुद्रा सञ्चितिमा उल्लेख्य दबाब पुगेको उनले जनाए।

Kumari Banner