घट्यो मोटर बीमाको व्यवसाय
वि.सं.२०७९ वैशाख २१ बुधवार १५:२९
shares
काठमाडौं, २१ वैंशाख । निर्जीवन बीमा कम्पनीहरूमा मोटर बीमाबाट संकलन हुने बीमाशुल्क घटेको छ ।
चालु आवको फागुन महिनाको तुलनामा चैतमा मोटर बीमाशुल्क ५ करोड २२ लाख ८८ हजार रूपैयाँले घटेको हो ।तथ्यांकअनुसार चैत महिनामा मोटर बीमा व्यवसायबाट निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब ४ करोड ७५ लाख ९८ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
जुन फागुन महिनाको तुलनामा ४.७५ प्रतिशतले कमी हो । फागुन महिनामा यस्तो बीमाबाट कम्पनीहरूले १ अर्ब ९ करोड ९८ लाख ८६ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।फागुनमा १२ लाख ७२ हजार ३८६ बीमालेख बिक्री गरी कम्पनीहरूले सो रकम संकलन गरेका थिए ।
तथ्यांक अनुसार चैतमा मोटर बीमालेखको संख्या भने बढेको छ । चैतमा १४ लाख २५ हजार ७६८ बीमालेख बिक्री भएका छन् ।फागुनको तुलनामा चैतमा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय पनि घटेको छ । फागुनको तुलनामा समग्र निर्जीवन बीमा व्यवसाय २.१४ प्रतिशतले घटेको हो ।
चालु आवको फागुन महिनामा कम्पनीहरूले कुल ३ अर्ब ४७ करोड ५६ लाख १० हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।चैत महिनामा आइपुग्दा सो रकम घटेर ३ अर्ब ४० करोड १२ लाख ६ हजार रूपैयाँमा सीमित भएको हो ।
चैत महिनामा कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३०.८० प्रतिशत हुन आउँछ ।फागुन महिनामा कुन निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३१.६५ प्रतिशत थियो ।
चैतमा बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमाशुल्क संकलन भएको छ । यस प्रदेशबाट कम्पनीहरूले मोटर बीमावापत ५८ करोड १९ लाख ४२ हजार रूपैयाँ बीमाशुल्क संकलन भएको छ ।
लुम्बिनी प्रदेशबाट १२ करोड ८१ लाख १५ हजार रूपैयाँ, प्रदेश १ बाट १० करोड ३६ लाख ५७ हजार रूपैयाँ, गण्डकी प्रदेशबाट ९ करोड ५८ लाख ३७ लाख रूपैयाँ, मधेश प्रदेशबाट ८ करोड ९२ लाख ६२ हजार रूपैयाँ र कर्णाली प्रदेशबाट १ करोड १८ लाख ९५ हजार रूपैयाँ बीमाशुल्क सकलन भएको छ ।
यस्तै, सुदुरपश्चिम प्रदेशबाट कम्पनीहरूले मोटर बीमाबाट ३ करोड ६८ लाख ९० हजार रूपैयाँ संकलन गरेका छन् ।निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति, सामुन्द्रिक, हवाई, मोटर, इञ्जिनियरिङ तथा सम्पूर्ण ठेग्गा जोखिम, कृषि तथा बाली, लघु तथा विविध बीमालेख बिक्री गर्दै आएका छन् ।