राराका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

1.14K
shares

काठमाडौं, २१ वैशाख । मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित पाँच जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर भएको छ।

प्रमुख प्रशासकीय अधिकृत सारुसहित इन्जिनियर, सव–इन्जिनियर तथा उपभोक्ता समितिका अध्यक्षसमेत पाँच जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर भएको हो।

आरोपपत्रमा भनिएको छ, ‘नगरपालिकाले वडा नं. २ मा पर्ने पैदल बाटोमा पक्की सिँढी निर्माण गर्ने गरी आ.व. २०७४÷०७५ मा विनियोजन भएको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छायाँनाथ रारा, नगरपालिका– २ स्थित अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माणको कार्यमा सव–इन्जिनियर तथा इन्जिनियरले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई तयार पारेको देखिन्छ।’

नापी किताबमा प्रमुख प्रशासकीय अधिकृत सारुले सही गरी नापीको विवरणमा सहमति जनाई, प्रतिवादीद्वय असिस्टेन्ट सव–इञ्जिनियर हस्तबहादुर मल्ल र इञ्जिनियर महेश सिंह कठायतले फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्यांकन गरी झुठ्ठा नापजाँच विवरण चढाई गलत सिफारिस गरी रकम २९ लाख ७७ हजार ८२१ रुपैंया सरकारी हानिनोक्सानी पु¥याएको आरोपपत्रमा उल्लेख छ।

आयोगले गैरकानूनी लाभहानी पु¥याउने बदनियतले वास्तविक रुपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी माग गरी बिगो २९ लाख ७७ हजार ८२१ रुपैयाँ हानिनोक्सानी पु¥याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर गरेकाले ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन एवं प्रतिवादीहरुबाट असुल तथा जफत गरिएको बिगो छायाँनाथ रारा नगरपालिकालाई उपलब्ध गराई पाउन मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको उल्लेख छ।

Kumari Banner