राजनीतिमा सकिृय पत्रकारको महासंघ सदस्यता खारेज
वि.सं.२०७९ वैशाख २२ बिहीवार १४:५०
shares
काठमाडौं, २२ वैशाख । नेपाल पत्रकार महासंघले स्थानीय तहको चुनावमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा रहेका पत्रकारहरुको महासंघ सदस्यता खारेज गरेको छ ।
महासंघ केन्द्रीय समितिको बैठकको म्याण्डेड अनुसार अनुशासन विभागले राजनीतिमा सक्रिय हुन चाहेका पत्रकारहरुको महासंघ सदस्यता खारेज गर्ने निर्णय गरेको हो । पत्रकार महासंघको मकवानपुरको दामन र कपिलवस्तुको तिलौराकोटमा सम्पन्न केन्द्रीय समिति बैठकले शुद्धिकरणको एजेण्डामाथि छलफल गर्दै लागू गर्ने निर्णय गरेको थियो । वैशाख ८ गते सम्पन्न केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकको निर्णय अनुसार राजनीतिमा लागेका पत्रकारको सदस्यता महासंंघले खारेज गरेको हो । नेपाल पत्रकार महासंघको सदस्यता भएका देशभरका दर्जन भन्दा धेरै पत्रकारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
लेखा समिति संयोजक तथा अनुशासन विभाग प्रमुख लेखनाथ न्यौपानेले आज एक सूचना प्रकाशन गरि चुनावमा उठेका पत्रकार महासंघका सदस्यहरुको सदस्यता खारेज गरिएको जानकारी गराएका छन् । न्यौपानेले भनेका छन्, ‘नेपाल पत्रकार महासंघको अनुशासन विभाग सदस्यमा मनोनित धनबहादुर पुरीले ‘नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा सुनसरी क्षेत्र नम्बर २ (क) बाट सभापति पदको उम्मेदवारी’ दिएको उजुरीको आधारमा उहाँलाई विभागको सदस्य पदबाट मुक्त गरिएको छ ।
विभागको अभिलेखमा उहाँको नाम नरहेको जानकारी गराउँदछौं । साथै महासंघको २०७९ वैशाख ८ गते सम्पन्न केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकको निर्णय अनुसार स्थानिय तह निर्वाचनमा उम्मेदवारी दिएका र पछि उम्मेदवारी फिर्ता लिएका सवै पदाधिकारी वा सदस्यहरु महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त भएको जानकारी गराउँदछौं ।’