भक्तपुरमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाईंदै
वि.सं.२०७९ वैशाख २३ शुक्रवार ११:५२
shares
भक्तपुर, २३ वैशाख । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ । नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको जनाएको छ ।
विशेषगरी ठूला दलले आचारसंहिताविपरीत प्रचार सामग्री राख्ने गरेकाले सम्बन्धित पार्टीलाई त्यस्ता सामग्री हटाउन भनिएको र अटेर गरेकोले सुरक्षाकर्मीको टोलीद्वारा हटाउन थालिएको छ ।
यसैबीच निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उम्मेदवारको सबै विवरण तयार पारिएको, मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको र केही दिनमै कर्मचारीलाई मतदानस्थलमा खटाइने कार्यालयले जनाएको छ ।
साथै, मध्यपुरथिमि नगरक्षेत्रभित्र रहेका मतदान केन्द्रमध्ये केही अत्यन्तै साँघुरो स्थानमा रहेका, केही बाटोमै रहेकाले त्यस्ता संवेदनशिल निर्वाचन केन्द्रको अनुगमन एवं सुरक्षाको व्यवस्था मजबुद बनाउने गरी तयारी गरिएको जनाइएको छ ।
मध्यपुरथिमिमा २० हजार ५३१ पुरुष, २१ हजार ३०८ महिला, तेस्रो लिङ्गी तीन गरी कूल ४१ हजार ८४२ मतदाता रहेका छन् । नगरमा १७ मतदानस्थल र ४६ मतदान केन्द्र राखिएको छ ।