मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

वि.सं.२०७९ वैशाख २५ आइतवार ०९:५७
shares

वीरगञ्ज, २५ वैशाख । सन्न स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ ।
जिल्लाका १६७ मतदानस्थल गरी ४०४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो । जिल्लामा १६७ मतदानस्थलको ४०४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई दुई दिनसम्म तालिम दिएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिए ।
तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकार क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकालगायत विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए।
पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरी कूल तीन लाख ३९ हजार ८३६ मतदाता छन् । मतदान र सहायक मतदान अधिकृतको नियुक्तिसँगै मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय र अन्य सुरक्षा व्यवस्थालाई चुस्त पारिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।