हिमालयन हाइड्रोपावरको खुुल्यो ९ करोडको आईपीओ

वि.सं.२०७९ वैशाख २५ आइतवार १०:१९
shares

काठमाडौं, २५ वैशाख । हिमालयन हाइड्रोपावर लिमिटेडले आज (बैशाख २५ गते) देखि ९ करोड मूल्य बराबरको ९ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । जसअनुसार कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत (९ लाख कित्ता) सेयरको बिक्री खुला गरेको छ ।
कम्पनीले जारी गर्ने आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की मादी गाउँपालिका वडा नंम्बर १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुले जेठ ८ गतेआवेदन दिन सक्नेछन् सो समयभित्र सबै सेयर खरीदका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ २३ गते आईपीओ निष्काशन खुला रहनेछ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसैगरी ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
सो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।