Nepal Life Banner

वर्षाअघि मेलम्चीको पानी रोकिने

3.45K
shares

काठमाडौं, २५ वैशाख । मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौँ ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो ।

हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ । गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । “सुरुङभित्रै बाढी नपरोस् भन्ने उद्देश्यले वर्षा सुरु हुनुअगावै बन्द गर्नुपर्ने छ” उनले भने । काठमाडौँ उपत्यकामा पुनः पानी आउन थालेपछि उपत्यकाबासी खुसी भएका छन् ।

कतिपय स्थानमा नागरिकले पानी नआएको वा कम आएको गुनासो गरेपनि गत वर्षभन्दा वितरणसम्बन्धी गुनासो कम भएको जनाइएको छ । वर्षाको अवधिभर मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा बागमतीको पानी नै प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेको समितिले जनाएको छ ।