इच्छाराज तामाङको सुन्धारास्थित सिटीसी मल लिलामीमा

वि.सं.२०७९ वैशाख २६ सोमवार १३:४५
shares

काठमाडौं, २६ वैशाख । घरजग्गा व्यवसायी इच्छाराज तामाङको सुन्धारामा रहेको सिटीसी मल लिलामीमा गएको छ ।
कर्मचारी सञ्चय कोषको ऋण नतिरेपछि कोषले धितोमा राखिएको सिटीसी मल लिलामीको ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।
८२ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त मलमा १३२ ओटा सटरहरू निर्माण गरिएको छ । कोषले सबै सटर सहितको भवन लिलामीको सूचना प्रकाशित गरेको हो । जग्गाको क्षेत्रफल मात्रै ६ रोपनी रहेको छ ।
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिटीसी मल लिलामीका लागि गत पुस देखि नै सञ्चय कोषले मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।
कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिदा पनि ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरु कोहीपनि ऋणचुक्ता गर्न नआएकोले लिलामीका लागि सम्पतीको मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।
कोषले गत मंसिर ६ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण नतिरे धितोमा रहेको सिटीसी मल लिलामी गर्ने चेतावनी दिएको थियो ।