भारतका उद्यमी–व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत शर्माको आग्रह
वि.सं.२०७९ वैशाख २७ मंगलवार १४:३६
shares
काठमाडौं, २७ वैशाख । भारतका लागि नेपालको राजदूतमा नियुक्त भएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई गरेका छन् ।
नयाँदिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजद्वारा संयुक्तरूपमा सोमबार नयाँदिल्लीमा आयोजित अन्तक्र्रियामा राजदूत डा शर्माले नेपालमा लगानी प्रशस्त क्षेत्र रहेकाले तुलनात्मक लाभका क्षेत्रमा पूँजी परिचालन गर्न आग्रह गरे ।
उनले भने “नेपालमा लगानीका अनेक सम्भावना छन् । लगानी गरेर मुनाफा कमाउन म भारतका उद्योगी–व्यवसायीहरूलाई आग्रह गर्दछु ।” नेपाल–भारत सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक सहजता, भाषा एवं सांस्कृतिक एकरुपताका साथै अन्य धेरै हिसाबले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न सहज हुने बाताए ।
नेपाल र भारतबीचको भौगोलिक निकटता र कैयन क्षेत्रका एकरुपताका कारण भारतीय उद्योगी व्यवसायीहरूलाई अन्यत्रको तुलनामा नेपालमा लगानी गर्न सहज हुने भएकाले लगानीका लागि आग्रह गरे । बैंकिङ तथा रेमिटेन्स सेवा एवं निर्यात व्यापार तथा लगानीका अवसर विषयमा आयोजित सो अन्तक्र्रियामा डा शर्माले आफूले भारतमा गरेको कमाइको सुरक्षा एवं पारदर्शिताका लागि बैैंकबाटै नेपाल पठाउन सबैलाई आग्रह गरे ।
एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका अध्यक्ष युवराज बरालले भारतमा रहेका सबै नेपालीले आफ्नो सम्पर्कमा रहेका सबै भारतका व्यवसायीलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्नुपर्नेमा जोड दिए ।उनले नेपालमा लगानीका साथै भारतबाट हुने आयात–निर्यातमा नेपाली तथा भारतीय समुदायलाई आवश्यक नीति–नियम तथा लगानीको वातावरणका लागि समन्वय गर्न आग्रह गरे ।