दूधजन्य पदार्थलाई अत्यावश्यक वस्तुको सुुचीमा राख्न व्यवसायीको आग्रह
वि.सं.२०७९ वैशाख २७ मंगलवार १४:३७
shares
काठमाडौं, २७ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन दूध तथा दूधजन्य वस्तुको ढुवानी नरोक्न व्यवसायीहरूले आग्रह गरेका छन् ।
दूधजन्य पदार्थलाई अत्यावश्यक वस्तुको सूचीमा नराखेपछि नेपाल डेरी एसोसिएसनले निर्वाचन आयोगलाई पत्र लेखेर सहजीकरणका लागि आग्रह गरेको हो ।
’अघिल्ला वर्षहरूमा दूध तथा दूग्धजन्य पदार्थको ढुवानीलाई अत्यावस्यकको सूचीमा राखिन्थ्यो। यसपटक वैशाख ३० गतेको निर्वाचनको दिनमा दूध ढुवानी अत्यावश्यक वस्तुको सूचीबाट छुटेको छ,’ एसोसियसनले आयोगलाई लेखेको पत्रमा उल्लेख छ ।
आयोगले निर्वाचनको दिनमा खाद्यान्न, एम्बुलेन्स, पिउने पानी, दूतावासका सवारी साधनबाहेक अन्य वस्तु ढुवानी र सवारी साधन चल्न नपाउने व्यवस्था गरेको छ । यो सूचीमा दूध तथा दुग्धजन्य वस्तुको ढुवानी समेत समेट्न एसोसिएसनले आग्रह गरेको हो ।
दूध अत्यावश्यक वस्तु भएको र यो बालकदेखि वृद्धवृद्धासम्मका लागि अनिवार्य रहेकाले यसको ढुवानीमा रोकतोक नगर्न आग्रह गरिएको छ ।
साथै, दूध उत्पादन भएकै दिनमा उपभोग गरिसक्नुपर्ने भएकाले ढुवानीमा अवरोध नगर्न एसोसिएसनले आग्रह गरेको हो्