भारतबाट हजारौ नेपाली निर्वाचनमा भाग लिंदै, सतर्कता अपनाउन सरकारको आग्रह
वि.सं.२०७९ वैशाख २७ मंगलवार १७:३६
shares
काठमाडौं, २७ वैशाख । सरकारले आसन्न स्थानीय निर्वाचनमा स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिन आग्रह गरेको छ ।
भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढीरहेको तर भारतमा काम गरिरहेका हजारौ नेपालीहरू मतदानको लागि नेपाल फर्किएकोले संक्रमणको जोखिम उच्च रहेको सरकारको भनाइ छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढीरहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि आग्रह गरे ।
उनले विदेशबाट स्थानीय तहको निर्वाचका लागि मतदान गर्न आउने नागरिकहरुले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर थप जोखिम हुनबाट बचाउन अनुरोध गरे। ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता पोखरेलले सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरु राखिएको जानकारी दिए। उनले कोरोनाको जोखिम कम गर्न सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय र छलफल गरिरहेको पनि स्पष्ट पारे ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल गरे ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भारतमा कोरोना संक्रमण बढेको भन्दै नेपाल आउने नागरिकहरु र नेपालमा रहेर चुनावी प्रचारप्रसार तथा मतदान गर्न जाने नागरिकहरुले स्वास्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको बताए ।
सहप्रवक्ता अधिकारीले कोरोनाको सम्भावित जोखिमलाई कम गर्न सरकारले भारतसँगको सीमा नाकाहरुमा हेल्थ डेस्क राखेको र आवतजावतलाई व्यवस्थित गर्न लागिपरेको बताउनु भयो । सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न, मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सम्पूर्ण जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।