भक्तपुरका मतदाता भन्छन्: हाम्रालाई होइन राम्रालाई भोट दिन्छौ

वि.सं.२०७९ वैशाख २७ मंगलवार १८:०५
shares

काठमाडौं, २७ वैशाख । गहुँ भित्र्याउने चटारोमा परेका भक्तपुरका किसान, व्यापारी, महिला तथा पहिलो पटक मतदान गर्न लागेका युवायुवती आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा हाम्रालाई होइन, राम्रालाई भोट दिने बताउँछन् । गहुँ काट्दै गरेको खेतमा होस् वा, चिया पसल, कलेज गएर फर्कंदै गरेका विद्यार्थीलाई होस्, घरमा काम गर्ने महिला वा ज्येष्ठ नागरिक अचेल सबैको उस्तै भावना सुनिन्छ, ‘हाम्रालाई होइन, राम्रालाई भोट दिन्छौ।’
सूर्यविनायक नगरपालिका–१ सिरुटारकी १९ वर्षीया सम्झना खड्का पहिलो पटक मतदान गर्ने प्रतिक्षामा छिन् । “म त पहिलो पटक मतदान गर्न लागेकी हुँ, आफ्नो गाउँको विकास गर्न सक्ने, क्षमतावान र पूरा गर्नसक्ने विकासको योजना ल्याउने, युवा वर्गको हित गर्ने उम्मेदवारलाई भोट हाल्ने छु । मेरो पहिलो मत खेर नजाओस्, झूटा आश्वासन दिने आफन्तनै भए पनि काम गर्न सक्ने राम्रालाई भोट दिन्छु ।” उनले उत्साहपूर्वकभनिन् । कसलाई भोट दिने भनेर परिवारमा छलफल हुने गरेको बताउँदै उनले परिवारलाई पनि राम्रो काम गर्न सक्नेलाई भोट दिन आफुले सुझाब दिएको तर मताधिकारको सवालमा भने कसैले दबाब नदिएको बताउछिन्।
यस्तै सूर्यविनायक–४ दधिकोटको पूजा न्यौपाने कतिपय दलले चित्तै नबुझ्ने र जनतासँग नभिजेका मानिसलाई उम्मेदवार बनाएको भन्दै गाउँका उम्मेदवार कसले गाउँ विकास गर्न सक्छ भन्ने सही आँकलन गरेर मात्रै राम्रा नेतालाई भोट दिने बताउछिन् । आफ्नो नगरमा आफ्नो वडामा को र कस्तो व्यक्ति कुन दल वा स्वतन्त्रबाट उठेका छन्, अधिकांशलाई चिन्ने भएकाले मतदान गर्न समस्या नहुने मतदाताको भनाइ छ । विगत पाँच वर्षमा जितेर जाने पार्टीले गरेको विकासलाई पनि मूल्याङ्कन गर्ने बताउछिन् सूर्यविनायक–५ कि अनिता पाण्डे ।
उनले भनिन् “मतदातालाई यस पटक सजिलो छ, विगतमा जितेर जाने नेताले कति विकास गरे, भ्रष्टाचार भयो कि भएन, सडक, खानेपानी, ढल टोल टोलमा पुग्यो कि पुगेन, चुनावमा र हारेका पार्टीका नेता नागरिकको दुःखसुख बुझ्न आफ्नो गाउँमा आए कि आएनन्, कोरोना महामारीमा नेताहरु जनताको समस्या समाधान गरे कि गरेनन् यी सबै मूल्याङ्कन गरेर मतदान गर्ने विचार गरेको छु ।”
त्यस्तै चाँगुनारायण नगरपालिका–६ नगरकोटका सुवास लामा गरिबका लागि शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, युवा बेरोजगारलाई रोजगार दिने, गाउँमै उद्यमी हुने कार्यक्रम ल्याउने, युवालाई व्यवसायमा प्रोत्साहन दिने, निव्र्याजी ऋणको व्यवस्था गर्ने, भ्रष्टाचार गर्दिन भनेर सङ्कल्प गर्ने नेतालाई भोट दिने बताउछन्। चाँगुनारायणमा पर्याप्त कृषि, पर्यटनको सम्भावना रहेकाले त्यसबाट पनि रोजगारीको सिर्जना गर्न सक्ने मतदाता बताउँछन् ।