नेशनल माइक्रोफाइनान्सको नाफा बढ्यो
वि.सं.२०७९ वैशाख २८ बुधवार १३:१४
shares
काठमाडौं, २८ वैशाख । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (LMFBS) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ भने ईपीएस घटेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.१८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.५१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३६.०१ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३५.१८ प्रतिशत बढेको छ ।
नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २७ रुपैयाँ ४४ पैसा घटेर ७६ रुपैयाँ ५५ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २७.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७५ पैसा रहेको छ ।