Dhulikhel Eco Banner new
NCHL Banner 2081

दुनाटपरी व्यवसायबाट राम्रो आम्दानी

3.97K
shares

कञ्चनपुर, २८ वैशाख । दुनाटपरी बचेर कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आएकी छिन् । घरको कामबाट फुर्सद पाइएका बेला उनी दुनाटपरी बनाउँछिन् ।

उनका अनुसार बनाइएका ती दुनाटपरी नजिकैको गुलरी बजार र कैलालीको धनगढी बजारमा विक्री हुने गर्दछ । उनले भनिन्, ‘बाँसको सिन्का सालको पातमा गाँसेर दुनाटपरी बनाउँदै आएकोे छु ।यसबाट महीनामा १० हजारदेखि १५ हजार रुपैयाँ जति आम्दानी हुने गरेको छ ।’

महाकाली सामुदायिक वनले दुनाटपरी बनाउनका लागि पात ल्याउनका लागि सहज गरिदिएको बताइएको छ । विद्यालयमा पढने बालबालिकाको खर्चसमेत दुनाटपरी विक्री गरी आएको पैसाले धान्ने गरिएको छ ।

घरको अत्यावश्यक कार्यका लागिसमेत दुनाटपरी बेचेर आएको पैसाखर्च हुने गरेको उनले बताइन्। धेरैजसो धार्मिक कार्यका लागि दुनाटपरीको प्रयोग हुन्छ । मन्दिर, बौद्ध गुम्बालगायतमा दुना टपरीको बढी माग आउने गर्दछ । उनका अनुसार पहिला एक दुनाटपरी तीन रुपैयाँमा विक्री हुन्थ्यो । हाल मूल्य बढेर पाँच रुपैयाँमा विक्री हुन्छ । उनले जति बनाउन सक्यो त्यतिनै फाइदा रहेको पनि बताइन् ।

दुनाटपरी विशेष गरी सालको पात र मालुको पातको बन्ने गरेको छ । सालको पातको दुनाटपरी बढी दिनसम्म चल्ने भएकाले त्यसकै माग बजारमा बढी हुने गरेको छ । दुनाटपरीसमेत विभिन्न प्रकारको हुने गरेको छ । जसमा बमुन्या पत्री, बोसो डोन्या, चिरी डोन्या, डोष्टी डोन्या बढी प्रचलित रहेका छन् । देख्नमा आकर्षक र ठूला आकारका दुनाटपरी ग्राहकले बढी रुचाउने गरेका छन् ।

उनका अनुसार बजार दुनाटपरीको माग धेरै छ, पु¥याउन सकिदैन । जति बनाए पनि बजारमा विक्री हुन्छ । यससँगै सामुदायिक वनले उपभोक्ताको आय–आर्जनमा टेवा पु¥याउनका लागि सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा प्रशिक्षक भएर उनले २० जना महिलालाई सीप सिकाउने कार्यलाई निरन्तरता दिंदै आएकि छिन्। श्यानी जस्तै बिर्सना चौधरीसमेत दुनाटपरी बनाइ बजारमा विक्री गर्ने कार्यमा संलग्न छिन् ।

धार्मिक कार्यसँगै थारु समुदायले दुनाटपरीमा खानाका परिकार पस्केर खाने कार्यसमेत हुँदै आएको छ । पहाडी समुदायलेसमेत धार्मिक कार्यमा दुनाटपरीको प्रयोग गर्दै आएका छन् । महकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशी दुनाटपरीको माग बजारमा बढ्दै गएकाले मेसिनको व्यवस्था गरी व्यावसायिक रुपमा दुनाटपरी उत्पादन गरी बजारमा विक्री गर्ने योजना रहेको बताउँछन् ।