‘साना व्यवसायीको हक हितमा काम गर्न सक्ने नेतृत्वको आवश्यकता छ’

1.24K
shares

काठमाडौं, २६ पुस । निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको संस्था नेपाल उद्योग वाणिज्य महांघको चुनाव आगामी चैत महिनामा हुदैछ । महासंघको वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने विधान अनुसार पछिल्लो केही कार्यकालमा वरिष्ठ उपाध्यक्षका लागि कडा प्रतिस्पर्धा हुने गरेको छ ।

महासंघको चुनावका नेतृत्वका आकांक्षीहरुले आफ्नो तयारी समेत सुरु गरिसकेका छन् । आर्थिक मन्दीका कारण समग्र अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेको अवस्थामा अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको निजी क्षेत्रले कसरी अगाडी बढ्नु पर्छ र कस्तो नेतृत्वको आवश्यकता छ ? यसै फेरिफेरिमा उद्योग वाणिज्य संघ सुर्खेतका पूर्व अध्यक्ष धनबहादुर रावलसँग गरिएको कुराकानीको सम्पादित अंश :

सुर्खेतमा उद्योग व्यवसायको अवस्था कस्तो छ ?

अहिले व्यवसायको अवस्था एकदम नाजुक रहेको छ । व्यवसाय चलेको छैन । व्यापारीहरु आफूले लिएको ऋण तिर्न नसकेर तनावमा रहेका छन् । ७ प्रतिशतमा लिएको लोन अहिले सरकारले वा बैंकहरुले बढाएर १५ प्रतिशत पु¥याइएको छ । पहिलेको लोन तिर्न नसकर व्यवसायीहरु कतिले त व्यवसाय नै बन्द गरिसकेको अवस्था छ ।

व्यवसायीहरु एकदम ठुलो चिन्तामा रहेका छन् । व्यवसायलाई अगाडी बढाउन सक्ने वातावरण छैन । हामी जिल्ला नगरका व्यवसायीहरुलाई कसैले वास्ता नै गर्दैनन् । ठूला व्यवसायीहरुका मात्रै कुरा हुने गरेको छ ।

सुर्खेत प्रदेशको राजधानी हो । यहाँ मुख्य रुपमा के–के उद्योगहरु रहेका छन् ?

सुर्खेतमा ठूला उद्योगहरु त छैनन् । साना तथा मझौला उद्योगहरुमात्र यहाँ रहेका छन् । साना साना खाध्यान्नका सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरु मात्रै रहेका छन् । अरु त सबै बाहिरबाट नै आउने सामानको व्यवसाय गर्ने हो ।

हामीसँग ठूला उद्योग खोल्न सक्ने क्षमता नै छैन । जसका कारण साना तथा मझौला उद्योगले नै सुर्खेतका उद्योगका रुपमा रहेका छन् । सामान्य व्यवसाय संचालन गर्ने व्यवसायीहरु निकै समस्यामा परेका छन् ।

उद्योग वाणिज्य महासंघको चुनाव आउदै छ । अबको नेतृत्व कस्तो आउनुपर्छ ?

अब यो महासंघको चुनावमा अध्यक्ष त स्वत निर्वाचित हुने हो । त्यो भन्दा बाहेक वरिष्ठ उपाध्यक्षमा को आउछ भन्ने कुरा हो । हुनत जो गएपनि केही गदैनन् । ठुला घरानाका व्यवसायीहरुको मात्र हो भन्ने भान भएको छ । देशको समग्र आर्थिक क्षेत्रलाई समेट्न सक्ने खालको हुनुपर्यो ।

जिल्लाको जस्तो होइन यो समग्र देशको हितका विषयमा सोच्न सक्ने खालको नेतृत्व आउन आवश्यक छ । अन्तराष्ट्रिय देशहरुसंग साझेदारी गरेर वस्तु आयात निर्यातमा भुमिका खेल्न सक्ने हुनुपर्छ । हुन अहिले भएको नेतृत्वले पनि जिल्ला नगरको हितको लागि केही पनि काम गरेको छैन । ठुला व्यापारीहरुले मात्र संचालन गरेको छ । बैंक पनि आफ्नै नाममा व्यापार पनि आफ्नै नाममा भएकाहरुको मात्र पहुँच छ ।

उनीहरुलाई कसरी सहज हुन्छ त्यो मात्र सोचेर अगाडि बढीरहेको अवस्था हो । सरकारसामु पनि त्यही किसिमको नीतिका लागि पहल गर्छन् । त्यसकारण साना व्यवसायीहरु जहिले पनि मर्कामा परिरहेका छन् ।

राम्रो नेतृत्व छानेर पठाउने जिम्मेवारी त व्यवसायीहरुकै होइन र ?

हो, जिम्मेवारी त व्यवसायीहरुकै हो तर सबै व्यवसायी एकै प्रकारका हुदैनन् । धेरै मान्छे धेरै धेरै सोच भएका कारण राम्रो नेतृत्व जान सकेन फेरि हामीले त राम्रो मान्छे छानेर पठाएका हुन्छन् । धेरै आश गरेर यहाँबाट माथिल्लो तहमा पु¥याइयो त्यहाँ पुगेपछि जो पनि त्यही बाटो हिड्छन् । व्यवसायीका विषयमा भने खासै आवाज उठाएको देखिदैन् ।

वरिष्ठ उपाध्यक्षमा तपाईको समर्थन कसलाई ?

अबको सर्पोट भनेको जसले जिल्ला नगरका उद्योगी व्यवसायीलाई सम्बोधन गर्छ त्यसलाई नै हुन्छ । अब अहिलेसम्म देखिएका आकांक्षीमा ४ जना देखिएका छन् । हुन त सबै आकांक्षीहरु उस्तै हो हामीले कुरा गरिरहेका छौँ सबैसँग, सबैले कुरा त राम्रै गरिरहेको अवस्था छ । त्यसमा पनि जिल्ला नगरका कुराहरुलाई बुझ्ने र सबै व्यवसायीहरुलाई समेट्ने खालकाे मान्छे चाहिन्छ ।


franklin 1200*150