GBIME

‘साना व्यवसायी मारमा छन, साना व्यवसायीका लागि महासंघको पनि ध्यान जानु पर्छ’

1.36K
shares

काठमाडौं, २ माघ । पछिल्लो समय निजी क्षेत्रका सबैभन्दा ठूलो सञ्जाल रहेको नेपाल उद्योग वाणिज्य महासंघको चुनावको चहलपहल सुरु भएको छ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ । जस अनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल आगामी कार्यकालका लागि अध्यक्ष बन्ने छन् ।

महासंघको पछिल्ला केही अधिवेशनहरुमा वरिष्ठ उपाध्यक्षका लागि बढी प्रतिपस्र्धा हुने गरेको छ । स्वतः अध्यक्ष बन्ने भए पछि अध्यक्षभन्दा पछिल्लो पद वरिष्ठ उपाध्यक्षका लागि निकै चर्को प्रतिपस्र्धा हुने गरेको छ । महासंघको आगामी नेतृत्व कस्तो बन्नु पर्छ भन्ने विषयमा पनि विभिन्न कोणबाट छलफलहरु सुरु भइसकेको छ ।

अधिकांश व्यवसायीहरुले आगामी नेतृत्वले साना तथा मझौला उद्योगीका समस्या समाधान गर्नका लागि तत्पर्ता देखाउनु पर्ने बताएका छन् । देशमा ठूला व्यवसायीको संख्या थोरै भए पनि महासंघमा भने उनीहरुको नै प्रतिनिधित्व भइरहेकाले साना तथा मझौला व्यवसायीका समस्यामा खासै ध्यान नपुगेको उनीहरुको भनाइ छ । ठूला व्यवसायीहरु महासंघ र बैंकमा पनि भएकाले पनि साना व्यवसायी बढी मारमा परेको जिल्ला नगरका पदाधिकारीहरुले बताउने गरेका छन् ।

महासंघमा बैंकर्सहरु नै रहेका छन् । उनीहरुले नै व्यवसाय गरेकाले साना व्यवसायीका समस्याका विषयमा महासंघको नेतृत्वले खासै ध्यान नदिएको काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पासछेँले बताए । अहिले व्यवसायीहरु निकै नाजुक अवस्थामा पुगेको समयमा पनि महासंघले साना व्यवसायीका लागि खासै काम नगरेको उनको आरोप छ । नेतृत्वमा व्यवसायीका समस्या पिर मर्काहरु बुझेर समाधानका लागि पहल गर्न सक्ने व्यक्ति जानु पर्ने उनको भनाइ छ ।

त्यस्तै भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण बहादुर मोक्तान पनि सफल र सक्षम नेतृत्वको खाँचो रहेको बताउँछन् । व्यवसायीका हक हितका लागि काम गर्न सक्ने नेतृत्व आउनु पर्ने उनको धारणा छ । उनले अहिलेको वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने विषयको पनि आफू विरोधी रहेको बताए ।
‘अध्यक्ष जस्तो पदमा चुनाव नहुने भन्ने कुरा नै गलत छ । सबै व्यवसायीले आफ्नो अध्यक्ष छान्न पाउनु पर्छ,’ उनले भने । नेपाल कृषि प्रधान देश भएकाले उत्पादन वृद्धिमा महासंघले पनि ध्यान दिनु पर्ने उनको भनाइ छ । सबै जिल्ला र नगरलाई समेट्न सक्ने र साना व्यवसायीका पिर मर्का बुझ्ने नेतृत्वको खाँचो रहेको उनकाले बताए ।

त्यस्तै काम गर्न सक्ने र व्यवसायीका समस्या समाधान गर्न सक्ने नेतृत्व आउनु पर्ने इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेलको भनाइ छ । सबै क्षेत्रका व्यवसायीलाई समेट्न सक्ने नेतृत्व भएको खण्डमा व्यवसाय गर्ने वातावरण निर्माण हुने उनको भनाइ छ ।

उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर बिश्वकर्माले पनि सबै क्षेत्रलाई समेट्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । महासंघमा हक्की र छिटो निर्णय गर्ने सक्ने व्यक्तिको आवश्यकता रहेको उनको भनाइ छ । ‘जिल्ला नगरमा व्यवसाय गर्नेहरुका लागि उनीहरुको समस्या नै ठूलो हुन्छ । त्यसलाई नेतृत्वले नजरअन्दाज गर्नु भएन,ࡕ’ उनले भने । व्यवसाय गर्नका लागि अहिले निकै अप्ठ्यारो अवस्था रहेको उनको भनाइ छ ।