GBIME

काम गर्न सके स्वदेशमै सम्भावना छ : उद्यमी सरस्वती मगर

मस्यौरा बनाएरै १० जनालाई रोजगार

2.58K
shares

काठमाडौं, २२ माघ । पैसाको पछि दौडिने समाजमा जोकोहीलाई पनि धन कमाउन रहर हुनु स्वाभाविक हो । पैसा कमाउनका लागि धेरै नेपालीहरुको रोजाई विदेश हुने गरेको छ । केही नेपालीलाई विदेश जानु बाध्यता हो भने केहीले नेपालमा गरिने कामलाई सानो भनेर विदेश जाने गरेका छन् । विदेशमा जस्तोसुकै काम गर्न पनि पछि नपर्ने नेपालीहरु स्वदेशमा भने मेहनत गर्नका लागि हिच्किचाउने गरेका छन् । तर गर्न सक्यो भने नेपालमा पनि राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् सरस्वती मगर ।

सरस्वतीले काठमाडौंको जारपाटी नारायणटारमा गुन्द्रुक, मस्यौरा र तितौरा बनाउने उद्योग स्थापना गरेकी छिन् । आमरुपमा सामान्य लाग्ने यो कामबाट उनले लाखौं आम्दानी गरिरहेकी छिन् । गाउँघरमा आमाहरुले बनाएको देखेकी उनले सोहीअनुसार मस्यौरा गुन्द्रुक बनाएर १० जनालाई रोजगारीसमेत दिएकी छिन् । यो सुन्दा तपाइलाई लाग्न सक्ला, यस्तो पनि हुन सक्छ र ? तर यो सम्भव बनाएकी छिन् उनै सरस्वतीले । उनले बाहिरका व्यक्तिहरुलाई काममा नराखे पनि आफ्नै परिवारका भाउजु, बुहारीहरुलाई भने रोजगारी दिएकी छिन् ।

उनले यो पेशाको शुरुवात गर्दाको अवस्था भने निकै संघर्षपूर्ण रहेको छ । कुनै पनि व्यक्तिलाई सफलता प्राप्त गर्नका लागि संघर्ष गर्नुपर्छ भन्ने विचार राख्ने उनी अहिले भने सन्तुष्ट देखिन्छिन् । उनलाई आफ्नो घर व्यवहार धान्नका लागि खासै समस्या पर्दैन ।

आजभन्दा २६ वर्ष पहिले एक किलो दाल ल्याएर मस्यौरा बनाउन थालेकी सरस्वतीले अहिले महिनामा लाखौंको व्यापार गर्छिन् । जुनसुकै कार्यको थालनी गर्दा शुरुमा सानो भए पनि पछि बढ्दै जाने उनको बुझाइ छ । शुरुमा उनले आफ्ना वरपरका स्थानीयलाई आफूले बनाएको मस्यौरा घरमा नै पु¥याउने गर्थिन् । वरपरका स्थानीयबाट शुरु भएको उनको यो व्यवसाय अहिले नेपालीहरु रहेका विश्वका सबैजसो देशमा पुग्छ । काठमाडौंका पनि भाटभटेनी सुपर मार्केटले उनको मस्यौरा, गुन्द्रुक खरिद गर्ने गरेको छ ।

‘जुनसुकै काम पनि पहिला गारो हुन्छ र मलाई पनि शुरुवातमा निकै गारो भएको थियो,’ उनले भनिन् । शुरुवातमा गरेको दुःखले अहिले राम्रो भएकोमा भने उनी निकै हर्षित देखिन्छिन् । उनको उत्पादनका लागि अहिले बजारको पनि कुनै समस्या छैन । २०५८ सालमा ४० रुपैयाँमा दाल ल्याएर मस्यौरा बनाउन थालेकी सरस्वतीले आफ्नो उद्योगलाई घरेलुमा दर्ता गरेर व्यवसाय गरिरहेकी छिन् । उनले एक किलोबाट दुई–दुईबाट तीन किलो त्यसपछि पाँच किलोको मस्यौरा बनाएर स्थानीयहरुको घर–घरमा नै पुर्‍याउने काम गरिन् । स्थानीयले मन पराएपछि उनमा मस्यौरा बनाउन थप हौसला बढ्दै गयो ।

बनाएर बजारमा पनि ल्याउनुपर्ने सुझाव पछि उनले किलोबाट शुरु गरेको मस्यौरा बनाउने कार्यले बोरामा परिणत हुन्छ । मगरले दालको बोरा नै खरिद गरेर मस्यौरा बनाउन थालिन् । बनाउन न थालिन् तर उनलाई बजारमा कसरी पु¥याउने भन्ने चिन्ता पनि नआएको होइन । तर उनले आफ्नो कार्यलाई भने निरन्तर जारी नै राखिन् । उनले बजारको खोजीका क्रममा भाटभेटेनी सुपर मार्केटमा कुरा गरिन् । त्यहाँ उनलाई मस्यौरा ल्याउनका लागि भनियो । अनि उनको यात्रामा थप हौसला पुग्यो र भाटभेटेनी आफ्नो उत्पादन बिक्री गर्न लागिन् ।

उनले भाटभटेनीसँगै सेलवयजमा र स्थानीय बजारमा पनि विस्तारै आफ्नो बजार विस्तार कार्यलाई अगाडि बढाइन् । मानिसमा सिप भएमा भोको मर्नु पर्दैन भन्ने उखानलाई उनले चरित्रार्थ पारिन् । कुनै पनि काम सानो ठूलो नहुने बताउने सरस्वती कुनै न कुनै किसिमको सिप हरेक मानिसमा हुनुपर्ने धारणा राख्छिन् । एक किलोबाट शुरु गरेको मस्यौरा बनाउने कार्य अहिले दैनिक ४० किलो दालको मस्यौरा बनाउने गरेको उनले सुनाइन् ।

शुरुवातमा मस्यौरा बनाउनका लागि ढुङ्गामा पिसेर काम गरेको र निकै गाह्रो अवस्था सिर्जना भएको अनुभव पनि उनीसँग छ । विस्तारै उत्पादनको मात्रामा वृद्धि हुँदै जाँदा उनले मिक्चरबाट काम गर्न थालिन् । त्यसरी शुरु गरिएको यो पेशाले उनलाई अहिले काठमाडौंमा बस्न मात्रै होइन १० जनालाई रोजगारी दिन पनि सहयोग गरेको छ । उनको उद्योगमा नियमितरुपमा १० जनाले रोजगारी पाएका छन् । उनले आफ्नै परिवारका सदस्यहरुलाई रोजगारी दिएकी छिन् । बाहिरको भनेको उनले मार्केटमा हिंड्ने व्यक्तिमात्रै राखेको बताइन् । दिनभरि खेर जाने समयलाई उनले सदुपयोग गरेर आमा दिदी बहिनीहरुलाई रोजगारी पनि दिइरहेकी छिन् ।

सरस्वतीले यो मस्यौरा बनाउनका लागि कतै तालिम पनि लिइनन् । घरमा खानलाई बनाएको सिपलाई प्रयोग गरेर उनले यो कामको थालनी गरिन् । आफूलाई पनि निकै मीठो लाग्ने बताउने सरस्वतीले विवाह पछि यो कार्यको सुरुवात गरिन् । २०५६ सालमा विवाह बन्धनमा बाँधिएपछि उनले यो कार्य सुरु गरिन् । शुरुमा श्रीमानलाई मस्यौरा बनाउँछु भन्दा तेरो मस्यौरा कसले खान्छ भन्नेर जवाफ दिएको उनी सम्झन्छिन् । हामीले खान्छौं भने अरुले पनि खान्छन् नि भन्ने उनको अठोटले यो कार्य शुरु भयो ।

लामो समयसम्म नबिग्रिने भएकाले यसको बजारको समस्या पनि छैन । शुरुमा केही असहज भए पनि अहिले घरमै आएर व्यापारीले लैजाने गरेका छन् । त्यसका अलावा विदेश जानेहरुले पनि सरस्वतीले बनाएको गुन्द्रुक र मस्यौरा लैजाने गरेका छन् । उनले अहिले प्रतिकेजी ८०० रुपैयाँमा मस्यौरा बिक्री गर्ने गरेकी छिन् । यो मूल्यमा सहजरुपमा बिक्री भइरहेको उनले बताइन् ।

सरस्वतीले मस्यौरा बनाउनका लागि सिजनअनुसार विभिन्न सामग्रीको प्रयोग गर्ने बताइन् । मस्यौरा बनाउनका लागि मासको दाल नै मुख्य हो । त्यसपछि सिजन अनुसार कर्कलो, पिंडालु, लसुन, कुपिण्डो लगायत वस्तुको प्रयोग गरेर मस्यौरा तयार हुन्छ । मुख्यगरी कर्कलोको मस्यौरा उपभोक्ताहरुले रुचाउने गरेका छन् ।

उनले आफूलाई चाहिने कच्चा पदार्थ भने अन्तैबाट ल्याउने गरेकी छिन् । कुपिण्डो सर्लाहीबाट ल्याउने गरेको भए पनि कर्कलो भने उनलाई फोन गरेर घरसम्मै पु¥याउन आउने गरेका छन् । लसुन, कर्कलो मुठ्ठाको रुपमा खरिद गरेर ल्याउन तथा कुपिण्डो पिसको हिसावले ल्याएर मस्यौरा तयार पार्छिन् सरस्वती । एउटा कुपिण्डोको १०० देखि १५० रुपैयाँसम्म पर्ने गरेको उनले सुनाइन् ।

नेपाली युवाहरु सामान्य आन्दानी गर्नका लागि विदेश गइरहेको अवस्थामा उनले भने निकै राम्रो आम्दानी गरिरहेकी छिन् । उनले आफ्नो घर खर्च चलाएर १० जनालाई रोजगारी पनि दिइरहेकी छिन् । जुन आफैंमा एक उदाहरणीय कार्य हो । उनले रोजगारी दिएको संख्या सानो होला तर यो उत्पादन क्षेत्र हो, आफ्नै देशको कच्चा पदार्थबाट वस्तु उत्पादन गरेर राम्रो आम्दानी गर्न सफल हुनु आफंैमा सराहनीय कार्य हो ।

४० रुपैयाँबाट शुरु गरेको व्यवसायले अहिले केही व्यक्तिलाई रोजगारी दिन पाउनु निकै खुसीको कुरा भएको उनको अनुभव छ । व्यवसाय र श्रीमानले समेत कमाएको पैसाले उनले जोरपाटी नारायणटारमा घर समेत बनाएकी छिन् । अहिले घर खर्चका लागि कुनै पनि समस्या छैन सरस्वतीलाई ।

उनले मस्यौरासँगै गुन्द्रुक पनि बनाउने गर्छिन् । उनको उद्योगबाट उत्पादन भएको गुन्द्रुक प्रतिकेजि ११०० रुपैयाँमा बिक्री गर्ने गरेकी छिन् । बजारबाट साग ल्याउने र त्यसलाई सफा गरेर ओइल्याउने कार्य गर्ने र त्यसपछि त्यसलाई भाँडोमा खाँदेर गुन्द्रुक बनाउँछिन् । भाँडोमा राखेको १० दिनपछि निकालेर सुकाउने र त्यसपछि गुन्द्रुक तयार हुने उनको अनुभव छ । गुन्द्रुक पनि विदेश जानेहरुले नै मुख्य गरि लैजाने गरेका छन् । लामो समयसम्म पनि राख्न मिल्ने भएकाले यसको माग पनि निकै बढी रहेको छ ।

उनले मुङको दालको तितौरा पनि बनाउँछिन् । यो अन्य तितौरा जस्तो अमिलो पिरो हुँदैन । मस्यौरा जस्तै हुन्छ । शुद्ध दालबाट बनेकाले यसको प्रयोग विरामीहरुले पनि खान मिल्ने भएकाले यसको छुट्टै बजार रहेको छ । कुनै पनि मिसावट नभएको र स्वास्थ्यका लागि पनि निकै राम्रो भएकाले यसले बजार नपाउला कि भन्ने समस्या उनकोमा छैन । त्यसलाई उपभोक्ताले तरकारीको रुपमा प्रयोग गर्ने गरेको उनले सुनाइन् । उनले बजारमा ७०० रुपैयाँ किलोमा मुङको दालको तितौरा बिक्री गर्ने गरेकी छिन् ।