विमानस्थल उद्घाटनको दिन जजिरा एयरलाइन्सले अवतरण गर्ने
वि.सं.२०७९ जेठ २ सोमवार १०:३३
shares
काठमाडौं, २ जेठ । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको एकै दिन उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ती दुई आयोजनाको सोमबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा हवाई मार्ग हुँदै आउने पर्यटकलाई केन्द्रित गरी लुम्बिनीबाट करिब २२ किलोमिटको दूरीमा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भोलिदेखि औपचारिक रुपमा सञ्चालनमा आउनेछ । यो विमानस्थल सञ्चालनमा आउँदा बुद्ध जन्मस्थल लुम्बिनीलाई विमानस्थलले अन्तर्राष्ट्रियजगत्सँग सिधा हवाई सम्पर्क स्थापित गर्नेछ ।
सोमबार बिहान कुवेतको जजिरा एयरलाइनसले पहिलो व्यावसायिक उडान भरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि विमानस्थल औपचारिक रूपमा व्यावसायिक रुपले सञ्चालनमा आउनेछ ।
करिब एक महिनादेखि नयाँ रनवेबाट आन्तरिक उडान सुरु गरिए पनि अन्तर्राष्ट्रिय उडान भने सोमबारदेखि मात्र हुनेछन् । बुद्ध जयन्तीका अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सले पहिलोपटक सोमबार बिहान १७५ जना यात्रु बोकेर विमानस्थलमा जहाज अवतरण गर्ने कार्यतालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए । उक्त विमान सोमबार नै ९० जना यात्रु बोकेर कुवेत प्रस्थान गर्ने महाप्रबन्धक दाहालले जानकारी दिए ।