वाग्मतीको शिर वाग्द्वारमा स्नान गर्नेको भीड

660
shares

काठमाडौँ, १ वैशाख । नयाँ वर्षको सूर्याेदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक मनमोहकतातर्फ अघि बढिरहेको छ ।

यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ । मेला भर्न बिहीबार बिहानैदेखि भक्तजनको भीड निकुञ्जतर्फ लागेको हो । कति भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी पुगेका थिए ।

राजधानीको कोलाहलबाट नजिकैको शान्त एवं रमणीयस्थलमा नयाँ वर्ष मनाउन मानिसको भीड लागेको छ । तीन वर्षअघि वाग्द्वार एवं यसको प्रवेशमार्ग सुन्दरीजलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वाग्द्वारको प्रचार–प्रसार गर्न गोकर्णेश्वर नगरपालिकोले महोत्सवको आयोजना गरेको थियो । विसं २०७७ देखि भने कोरोना महामारीका कारण स्थगन गरिए पनि कोरोना शान्त भएपछि पर्यटन प्रवद्र्धनका लागि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र काठमाडौँ र नुवाकोट जिल्ला एवं गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वार नववर्षका दिन स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ । आजको दिनमा यहाँ आई स्नान गरेमा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन वाग्मतीमा स्नान गरेमा मनकामना सिद्ध हुने धार्मिक विश्वाससमेत छ ।

वैशाख महिना र वाग्मतीको सम्बन्ध रहेकाले प्राचीनकालदेखि नै चोभारबाट वाग्द्वारसम्म वाग्मती तीर्थयात्रा गर्ने विधान छ । विसं २०३० देखि लोप भएको यो जात्रालाई पशुपति क्षेत्र विकास कोषले २०७५ देखि निरन्तरता दिएको छ । यस वर्ष भने वाग्मती तीर्थयात्रा गर्ने नगर्ने निश्चित नभएको कोषले जनाएको छ ।

Kumari Banner