GBIME

एकता र परिवर्तन रक्षाको संकल्पसहित म प्रधानमन्त्रीको जिम्मेवारीमा छु : प्रधानमन्त्री दाहाल

672
shares

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् ।

कान्तिपुर मिडियाद्वारा राजधानीमा शनिवार आयोजित हाफ म्याराथन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘यो परिवर्तन मार्फत नै जनतालाई सेवा दिन सकिन्छ । सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्प सहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु । हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौं।’

उनले शीर्ष नेताहरु बीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु, संक्रमणकालीन न्याय र गणतन्त्र बिरोधि प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको स्पष्ट पारे । प्रधानमन्त्रीले भारतसँग खुला सिमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्नुहुँदै आगामी भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्ने बताए ।

प्रधानमन्त्री दाहालले कार्यक्रममा सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको बताए । उनले भने,‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्प सहित अगाडि बढेको छ । त्यसमा खेलकूलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु ।’