GBIME

अर्थमन्त्रालयको मूल गेटमै सांसदलाई ‘नो इन्ट्री’

5.68K
shares

काठमाडौं, १० जेठ । आगामी आर्थिक वर्षका लागि बजेटको अन्तिम तयारीमा जुटेको अर्थमन्त्रालयले आफ्नो मूख्य प्रवेशद्वारबाटै बाह्य व्यक्तिहरुलाई कडाइ गरेको छ । आफूले चाहेका विषय बजेटमा लेखाउनका लागि खुला रुपमै समिति बनाएका अर्थमन्त्रीले अन्य व्यक्तिहरुको प्रवेशलाई भने पूर्ण रुपमा बन्देज लगाएको हुन् ।

अर्थमन्त्रालयले बजेटको मुखमा यसरी प्रवेशमा कडाइ गर्नु नयाँ कुरा भने होइन । मन्त्रालयले यस अघि पनि बजेटको मुखमा बाह्य व्यक्तिहरुलाई प्रवेश नदिने गरेको थियो । सामान्यतया बजेट महाशाखामा प्रवेश नदिने भए पनि यसपाली मुलद्वारबाट समेत प्रवेश दिन रोकेको छ । अर्को महत्वपूर्ण कुरा भनेको मुलद्वारबाट माननीय सांसदहरु पनि रोकिएका छन् ।

बजेटको मुखमा आफ्ना स्वार्थका आयोजनाहरुको ‘चिट’ बोकेर मन्त्रालय धाउने सांसदहरु मूलद्वारमै रोकिएका छन् । कतिपय सांसदहरुले अर्थमन्त्रीलाई फोन गरेरै गुनासो समेत गर्ने गरेको मन्त्रीको सचिवालयका कर्मचारीहरु बताउछन् ।

अर्थमन्त्रीले प्रधानमन्त्रीका विशेष मान्छे, राष्ट्रिय योजना आयोगका उच्च अधिकारी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका केही सीमित व्यक्तिहरु बाहेक मन्त्री भए सकेका बहालवाला सांसदहरुलाई पनि प्रवेश दिएका छैनन् ।

अर्थमन्त्रीको सक्रियता

अहिले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा प्रमुख सत्ता साझेदार दलको कांग्रेसको तर्फबाट अर्थमन्त्री बनेका डा. प्रकाशरण महतले कस्तो बजेट ल्याउलान भन्ने चासो व्यापक छ । बजेट राम्रो बनाउनका लागि भन्दै बाहिरबाट तीन जनाको टोली नै बनाएर अर्थमन्त्री लागेका छन् ।

अर्थमन्त्री आफै पनि निकै सक्रिय देखिएका छन् । राति ११ बजेसम्म पनि अर्थमन्त्रीले मन्त्रालयमा बसेर काम गर्ने गरेका छन् । मंगबालर १० बजेर १३ मिनेट जादासम्म पनि अर्थमन्त्री कार्यकक्षमै थिए । कार्यकक्षमा आफ्नो कुर्सीमा बस्ने मात्रै होइन, अर्थमन्त्री महत कर्मचारीहरुको टेबल–टेलमा पुगेर के भइरहेको छ भनेर अपडेट समेत लिने गरेका छन् ।

‘बजेटमा मन्त्रीज्यूको राम्रो कन्सर्न छ, अहिले पनि निकै सक्रियता देखाउनु भएको छ’ बजेट लेखन टिमका एक सदस्य भन्छन्, ‘समय कम भएका कारण अलि गाह्रो परेको हो, नत्र बजेट धेरै राम्रो आउथ्यो ।’