GBIME

भानुभक्त प्राणी उद्यानः जग्गा अधिग्रहणका लागि रु ४६ करोड

948
shares

दमौली, ३ वैशाख । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको छ ।

रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्र्ने, वन्यजन्तु संरक्षणमार्फत आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको सो उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको हो ।

प्राणी उद्यानले व्यास नगरपालिका–११, १२, भानु नगरपालिका–५ र ६ का भाग समेटेको छ । उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए । उनका अनुसार यस कार्यका लागि कूल रु ४६ करोड ५२ लाख एक हजार ७३० बजेट आवश्यक पर्छ । जग्गाको मुआब्जा वितरणका लागि अर्थमन्त्रालयमा फाइल पठाइएको र बजेट स्वीकृत भएर आएपछि मुआब्जा वितरणको काम सुरु हुने उनले बताऐ ।

‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले जग्गाको मूल्याङ्कन गरेर बजेटका लागि फाइल अर्थमन्त्रालयमा पठाएको छ, मन्त्रालयबाट बजेट प्राप्त भएपछि मुआब्जाको काम अगाडी बढाउँछौँ’, पन्थले भने ।

प्राणी उद्यानभित्र परेका १२६ जग्गाधनीको ९६१ रोपनी जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि रु ४३ करोड ८७ लाख नौ हजार ४४३ मुआब्जा निर्धारण गरिएको छ । त्यस्तै उद्यानभित्र परेका घरटहराका लागि रु ५८ लाख सात हजार ५७९ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि रु दुई करोड छ लाख ८४ हजार ७०७ मुआब्जा निर्धारण गरिएको छ ।

प्राणी उद्यानको सीमानमा तारबार लगाउने काम भने सम्पन्न भइसकेको छ । उद्यानको विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजनाअनुसार यहाँ दुई इलाका, चार क्षेत्र र आठ शाखा कल्पना गरिएको छ । इलाकाअन्तर्गत संरक्षण इलाका र उपयोग इलाका रहनेछ । क्षेत्रअन्तर्गत प्रशासनिक, प्रदर्शनी, शान्ति र आध्यात्मिक तथा उद्धार र अनुसन्धान रहनेछ । शाखाअन्तर्गत ठूला शाकाहारी, शाकाहारी, पन्छी, सर्वहारी, सरीसृप, साना स्तनधारी, माँसाहारी र भालु शाखाको कल्पना गरिएको छ ।

प्राणी उद्यान कूल ४२५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ । उद्यानले २९७.४७ हेक्टर संरक्षण इलाका र १२७.५३ उपयोग इलाका निर्धारण गरेको छ । संरक्षण इलाकाभित्र घना वन क्षेत्र, भिरालो र पहुँच नभएको क्षेत्र पर्दछ भने उपयोग इलाकाभित्र कम भिरालो, पानीका स्रोत पर्दछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा प्राणी उद्यान घोषणा गर्ने प्रावधान भएकाले चुनौती देखा परेको संरक्षण अधिकृत पन्थले बताऐ । प्राणी उद्यानले गुरुयोजनाबमोजिम कार्य सञ्चालन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा प्राणी उद्यान स्थापना र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न पहल गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । –रासस

Dhulikhel Eco Resort 1200*100