Nepal Life Banner

पहिलो सरकारी अस्पताल : टिकट काट्नै सास्ती

15.59K
shares

काठमाडौं, २५ भदौ । सस्तोमा उपचार हुने भए पनि वीर अस्पतालमा टिकट पाउन सर्वसाधारणले सास्ती भोग्नुपर्छ । ओपिडीका लागि बिहान ८ बजेदेखी टिकट काउन्टर खुल्ने भए पनि सर्वसाधारण टिकटका लागि बिहानै पुग्ने हुँदा अस्पताल परिसरमा भिड लाग्ने गरेको छ । ओपीडीमा मात्रै दैनिक २ हजार ६ सय ९१ उपचार हुने उक्त अस्पतालमा बिहान ९/१० बजेसम्म हजार भन्दा बढी काउन्टर छेउमै जम्मा हुन्छन् । ‘सरकारी अस्पताल गएपछि लाइन बस्दिन भनेर सुःखै पाइदैन । त्यही भएर बिहानै टिकटका लागि आएँ ।’ टिकट लिन लाइन बसिरहेकी एक सेवाग्राहीले भनिन् ।

अस्पतालका सूचना अधिकारी सागर मिश्रले अनलाईन टिकट प्रयोगका विषयमा धेरैलाई जानकारी नहुँदा भिड देखिएको भन्दै तुलनात्मक रुपमा व्यवस्थित भएको जानकारी दिए । ‘अहिले हामीले अनलाइन टिकटको व्यवस्था गरेका छौं, धेरैले अनलाइन टिकट पनि काट्ने गर्नु भएको छ ’ सूचना अधिकारी मिश्र भन्छन् ‘गाउँ गाउँबाट आएकाहरुसँग त इ–सेवा नहोला उहाँहरुलाई प्रयोग गर्न नआउँला शहरमा बस्नेहरुले प्रयोग गर्दा राम्रो हुने थियो ।’ कतिपयले अनलाइन टिकटको बारेमा जानकारी नभएकाले पनि टिकटका लागि आउदा भिड भएको  उनले बताए ।

नेपालको पहिलो सरकारी अस्पताल
वीर अस्पताल सबै भन्दा पुरानो सरकारी अस्पताल भएकै कारण दैनिक धेरै बिरामीहरु स्वास्थ्य जाँचका लागि आउने गरेका छन् । वि.सं १९४७ साल साउन १२ वीर संशेरले स्थापना गरेका यो अस्पतालले हाल १३३ वर्ष पार गरिसकेको छ । उमेरमा सबैभन्दा जेठो अस्पताल भए पनि बिरामीहरुको मन जित्न भने सकेको छैन । बिरामी राख्ने बेड, स्वास्थकर्मीको रुखो व्यवहार र शौचालयको अवस्थाले गर्दा धेरै मान्छेहरु वीरअस्पतालको नाम सुन्ने बित्तिकै नाक खुम्च्याउछन् ।

यस्ता बिरामी आउँछन् वीर अस्पतालमा
वीर अस्पताल सरकारी अस्पताल भएकै कारण आर्थिक स्थिती कमजोर भएका मान्छेहरु आउँने गर्छन् । अहिले पनि ३५ रुपैयाँ तिरेपछि सामान्य चेकजाँच गर्न पाइन्छ भने ल्याब टेष्टहरु पनि अन्य अस्पतालको तुलनामा सस्तो छ । सामान्य बेडमा बिरामी राख्दा प्रतिदिन दुईसय रुपैयाँ बेडचार्ज तिरे पुग्छ भने भर्ना भएका बिरामीको हकमा अस्पताल प्रशासनले बिहान बेलुकाको खानाको साथै खाजा पनि खुवाउछ ।

वृद्ध नागरिकलाई विभिन्न शीर्षकमा उपचारमा छुट दिने भएकाले पनि आर्थिक अवस्था कमजोर भएकाहरु उपचार गर्न वीर अस्पताल नै आउछन् । टिकटका लागि लाइन चर्को भए पनि उपचार राम्रो हुने विश्वास पनि छ ।

गरिबहरुको पहिलो रोजाई
धेरैलाई लाग्न सक्छ । धनाढ्यहरु सरकारी अस्पताल आउदैनन् । टिकट लिनदेखी अन्य ल्याब टेष्टका लागि समेत ठाउँ ठाउँमा लाइन बस्न पर्ने हुँदा प्राय धनाढ्यहरुको पहिलो रोजाई बन्दैन यो अस्पताल । आर्थिक रुपमा विपन्नहरुको रोजाईको अस्पताल बने पनि सेवाग्राही सन्तुष्ट भने छैनन् ।

चमेना गृहको अवस्था नाजुक
अस्पताल भित्र देखिएको सरसफाई कमजोरी अस्पताल प्राङ्गणको चमेना गृहमा पनि देखिन्छ । आफन्त बिरामी भएर एक महिनादेखी अस्पताल बस्दै आएकी तनहुकी शान्ति परियार अस्पताल चमेनागृहको खाना नमिठो रहेको बताउछिन् ।

बाध्यताले अस्पताल बसेको धारणा राख्ने शान्तिले चमेनागृहको खानाले आफु झण्डै बिरामी भएको सुनाइन् ‘अस्पताल कोही पनि रहरले आउदैन । उपचारसंगै चमेनागृहको खाना पनि राम्रो भए हामी जस्तालाई सजिलो हुने थियो ।’ उनले भनिन् । त्यसो त स्वास्यकर्मी र कर्मचारीको रुखो व्यवहारले पनि दिक्क बनाएको सुनाउँछिन् ।

चमेना गृहभित्र २ खण्ड छन् । सर्वसाधरणका लागि बहिरपट्टि ठाउँ छ, जुन ठाउँमा राम्ररी सफा गरिएको हुन्न । अस्पतालका कर्मचारीले खाजा खाना खाने भित्र पट्टि चाँही सुविधा सम्पन्न छ ।
दैनिक १११ जनाको आपतकालिन उपचार हुने उक्त अस्पतालमा ओपीडिमा २६९१ जनाको स्वास्थ्य जाँच हुन्छ भने दैनिक ३४०५ प्रयोगशाला परिक्षण हुन्छ । २६६ एक्सेरे र २३० अल्ट्रासाउण्ड हुने गरेको छ ।