नेप्सलाई एनसीएचएलमा गाभ्ने प्रपञ्च !
वि.सं.२०८० असोज २३ मंगलवार ०९:५९
shares
काठमाडौं, २३ असोज । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) लाई नेपाल क्लियरिङ हाउस लि. (एनसिएचएल) मा गाभ्ने प्रपञ्च सुरु भएको छ । नेप्सका केही सञ्चालकहरुले क्लियरिङ हाउसमै गाभिनका लागि नेपाल राष्ट्र बैंकसँग लविङ गरिरहेको बुझिएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी फर्छौंट विनियमावलीमा भुक्तानी सेवा प्रदायकहरु पनि मर्जर/प्राप्तिमा जान सक्ने व्यवस्था गरेको थियो । २०७७ सालमा बनेको विनियमावली गत जेठ २ गते संशोधन भएको थियो । उक्त विनियमावलीमा मर्जरमा जानसक्ने व्यवस्था गरिए पछि यतिबेला नेप्सलाई क्लियरिङ हाउसमा गाभ्नका लागि नेप्सकै सञ्चालकहरु लागि परेका छन् । यसको मूख्य भूमिका भने नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले खेलिरहेका छन् ।
क्लियरिङ हाउस नेपाल राष्ट्र बैंकको समेत शेयर स्वामित्व भएको कम्पनी हो भने नेप्स केही बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवद्र्धित संस्था हो । नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा सञ्जीव सुब्बा रहेका छन् । उता क्लियरिङ हाउसको सञ्चालक समिति अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामबहादुर मानन्धर र प्रमुख कार्यकारी अधिकृतमा निलेशमानसिंह प्रधान रहेका छन् ।
क्लियरिङ हाउसमा गएर गाभिनका लागि नेप्सका सञ्चालकहरु मरिमेटेरै लागेका छन् । नेप्सका एक सञ्चालकका अनुसार केही दिन अघि मर्जरका बारेमा नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग समेत छलफल भएको थियो । नेप्सले अनौपचारिक रुपमा मर्जरका लागि भूमिका खेलिदिन राष्ट्र बैंकका केही अधिकारीहरुसँग अनुरोध गरेका छन् ।
किन विलय हुन चाहान्छ नेप्स ?
नेप्स नेपालका राम्रा बैंकहरुबाटै प्रवद्र्धित कम्पनी हो । यसको अध्यक्षमा नै माछापुछ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने छन् । यसबाहेक नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन इन्टरनेसनल, सनराइज बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुबाट नेप्स प्रवद्र्धित छ । लगानीकर्ता बैंकहरु राम्रै भए पनि नेप्सले प्रगति भने गर्न सकेको छैन ।
‘एनसिएचएल जस्तो संस्थामा गाभिन पाउनु हामी जस्तो संस्थाका लागि धेरै राम्रो कुरा हो, यसकारण पनि हामीले इन्ट्रेष्ट देखाएका हौँ’ नेप्सका एक सञ्चालकले भने, ‘एनसिएचएल निकै माथि पुगिसकेकाले हामीलाई स्वीकार्न गाह्रो पर्न सक्छ, यसमा राष्ट्र बैंकको भूमिका कस्तो हुन्छ भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ ।’
एनसिएचएलमा विलय हुनका लागि भूमिका खेलिरहेका नेप्सका सीईओ सुब्बा भने सम्पर्कमा आउन चाहेनन् । उनको व्यक्तिगत मोवाइलमा फोन गर्दा समेत उनले रिसिभ गरेनन् । नेप्सको अवस्था सुब्बाले कस्तो बनाएका छन् भन्ने कुरा बुझ्नका लागि नेप्सको वेबसाइटमात्रै हेरे पनि पुग्छ । नेप्सको वेबसाइट नखुलेको नै धेरै दिन भइसकेको छ । यो समाचार तयार पार्दासम्म पनि नेप्सको वेबसाइट चलेको छैन ।
क्लियरिङ हाउसकै सञ्चालकहरु पनि नेप्सलाई गाभ्ने विषयमा पोजिटिभ छैनन् । ‘एक्कासी यस्तो कुरा सुनियो, खै कहाँबाट कसले हल्ला चलायो थाहाँ छैन’ एनसिएचएलका एक सञ्चालक भन्छन्, ‘हामी कमजोर कम्पनी ल्याउने पक्षमा छैनौ, कही कुरा भएको पनि छैन ।’
नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल मर्जरका लागि कुनै कम्पनीकै लागि भनेर दवाव नदिएको बताउछन् । मर्जर पछि पुँजी वृद्धि हुने र स्था वलियो हुने भएकाले पनि राष्ट्र बैंकले मर्जरमा जाउन भन्ने चाहना भने राखेको उनले बताए । पीएसओसँग पीएसओ र पीएसपीसँग पीएसपी मर्जर हुँदा त्यसले सकारात्मक असर नै गर्ने उनको भनाइ छ ।