आयात बढ्दा निर्यात घट्यो

वि.सं.२०८० कात्तिक १२ आइतवार १६:०४
shares

काठमाडौँ, १२ कात्तिक । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रूपैयाँ बराबरको माल वस्तुको आयात गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ९९ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख रूपैयाँ बराबरको माल वस्तु निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो ।
सो अवधिमा नेपालको वैदेशिक व्यापार चार खर्ब ४८ अर्ब ६३ करोड रूपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा चार खर्ब ४२ अर्ब ८१ करोड रूपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड रूपैयाँ बराबर रहेको छ । गत वर्षको सोही अवधिमा तीन खर्ब ५९ अर्ब १७ करोड रूपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।