हात्तीबाट बाली जोगाउन विकल्प खोज्दै झापाका किसान
वि.सं.२०८० कात्तिक २७ सोमवार १५:०४
shares
झापा, २७ कात्तिक । झापाका विभिन्न स्थानीय तहमा हात्तीपीडित किसान हात्तीले नखाने बालीतर्फ आकर्षित भएका छन् । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, हल्दिबारीलगायतका बस्तीमा जङ्गली हात्तीले अन्नबाली खान थालेपछि विकल्पका रुपमा नगदेबालीतर्फ किसान आकर्षित भएका हुन् ।
नगदेबालीबाट मनग्य आम्दानी हुने र हात्तीले पनि नखाने भएपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् । हात्तीले नखाने र बजारमा महँगो मूल्यमा बिक्री हुने भएकाले अन्नबालीको साटो सुपारी, मरिच र तेजपत्ता खेती धमाधम विस्तार गरिरहेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए ।
“धान र मकैखेती गर्दा हात्तीले खाएर नष्ट गरिहाल्छ । बाहुनडाँगीका स्थानीयले चार दशकदेखि जङ्गली हात्तीको पिरलो भोगिरहेका छन्” उनले भने, “अब गरिखानै नपाउने अवस्था सिर्जना भएपछि किसानले हात्तीले नखाने र धेरै आम्दानी हुने नगदे बाली रोज्न थालेका हुन् ।”
धान र मकैखेती मासेर मेचीनगर नगरपालिका–१, २, ३ र ४ मा सयौँ किसानले चिया, सुपारी, मरिच, तेजपत्ता र कागती गरी कम्तीमा पाँचतले खेती गरिरहेका छन् । एउटा अन्नबाली हुने खेतमा एकैपटकमा पाँचदेखि नौ बालीसम्म फल्ने भएकाले किसानलाई नगदेबालीबाटै बढी लाभ भइरहेको छ । मेचीनगर–४ का युवराज गिरी धान खेत मासेर नगदे बाली लगाउने पुराना कृषक हुन्। उनले विगत १५ वर्षदेखि तीन बिघा खेतमा चिया, सुपारी, मरिच, कागती, बेसार, अदुवा र केरा गरी साततले खेती गरिरहेको बताए ।
वार्षिकरुपमा चियाबाट रू तीन लाख, सुपारीबाट रू दुई लाख र मरिचबाट रू दुई लाख नियमित आम्दानी भइरहेको जानकारी दिँदै तेजपत्ता, कागती, बेसा, अदुवा र केराखेतीको अलग्गै आम्दानी हुने गरेको गिरीले बताए। “चिया खेतको बीचबीचमा सुपारी, कागती, तेजपत्ताको बोट हुर्काएको छु”, उनले भने “मलखाद र सिँचाइ प्रयोग गर्न पनि एकैपटकमा हुन्छ । सुपारीका बोटमा मरिच लहरिएर फल्ने गरेको छ ।”
जङ्गली हात्तीले सबैभन्दा बढी प्रभावित क्षेत्र बाहुनडाँगीमा अगुवा किसान रवि नेपालले १५ बिघामा अन्नबाली मासेर नगदेबाली लगाएका छन् । उनले आफ्नो खेतीबाट उत्पादित नगदेबाली भारतसम्म निकासी गर्दै आएका छन् । “धान, मकै, कोदोजस्ता अन्नबाली लगाएर हाम्रा बाबुबाजेले हात्तीलाई खुवाए”, हात्तीले नखाने नगदेबालीको फाइदा बताउँदै उनले भने, “अहिले हाम्रो पुस्ताले पनि त्यही दुःख किन दोहो¥याउनु भनेर मैले सुपारी, चिया, मरिच, तेजपत्तालगायतका नयाँ बाली लगाएको हुँ ।”
उनले अन्नबाली लगाउने खेतमा अहिले बोटबिरुवासमेत गरेर ५० प्रजातिका खेतीपाती गरिरहेको बताए । नेपालका अनुसार चिया र सुपारी खेतीमा तेजपत्ताको मात्रै २ हजार ५ सय बोटले उत्पादन दिइरहेका छन् । बर्सेनि रू पाँच लाखको तेजपत्ता बिक्री हुने गरेको उनले जानकारी दिए । सुपारी, तेजपत्ता, मरिचजस्ता नगदेबालीको बजार र मूल्यमा कुनै समस्या छैन । यी बालीले महँगो मूल्य पाउने गरेका छन् । व्यापारीहरुले घरमै आएर किनेर लैजाने गरेकाले किसान नगदे बालीतिरै आकर्षित भएका हुन् ।
“तेजपत्ता बोटमै टिपेर व्यापारीले प्रति केजी १२, सुकाइएको तेजपत्ता प्रति केजी ६० र मरिच प्रतिकेजी रू एक हजार दुई सयमा खेतबाटै बिक्री हुँदै आएको छ”, नेपालले भने, “बाहुनडाँगीका हरेक घरमा सुपारी र मरिचका बोट छन् ।” सुपारीका बोटमा आफूले बर्सेनि दुई केजी मरिच फलाउने गरेको उनले बताए ।
साविक बाहुनडाँगी गाविसका अध्यक्ष नीलकण्ठ तिवारी हात्ती प्रभावित क्षेत्रमा हात्तीले खाने र क्षति पुयाउने अन्नबालीको साटो वैकल्पिक खेतीतिर किसानलाई प्रोत्साहित गर्ने सरकारी नीतिको खाँचो रहेको बताए । उनका अनुसार एक दशकदेखि सरकारले सुपारी जोनको अवधारणा ल्याएर व्यावसायिकरुपमा सुपारीखेतीतर्फ लाग्न हात्तीपीडित क्षेत्रका किसानलाई प्रोत्साहित गरिरहेको छ ।