मिर्मिरे लघुवित्तको कामू सीईओमा बोहरा नियुक्त

वि.सं.२०८० मंसिर १ शुक्रवार १८:५४
shares

काठमाडौं, १ मंसिर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कामू प्रमुख कार्यकारी अधिकृतमा मिनबहादुर बोहरा नियुक्त भएका छन् । संस्थाका सीईओ पुस्करराज जोशीले स्वेच्छिक अवकास लिएपछि बोहरालाई कामू सीईओको जिम्बेवारी दिएको हो ।
मिर्मिरे लघुवित्तको सञ्चालक समितिका अनुसार आगामी आइतबारदेखि लागू हुने गरी बोहरालाई जिम्बेवारी तोकिएको छ । बोहरा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था लघुवित्त बैंकर्स संघका निवर्तमान कार्यबाहक अध्यक्ष समेत हुन् । उनले वाणिज्य शास्त्रमा स्नातक र समाजशास्त्रमा स्नात्तकोत्तर अध्ययन गरेका छन् ।
सम्भवतः बोहरा नेपालको बैंकिङ क्षेत्रमै धेरै भिआरएस लिने सीईओ हुन् । उनले एक वर्षमै तीन वटा संस्थामा भिआरएस लिएर बिदा भएका थिए । ग्रामिण विकास बैंकमा सहायक स्तरमा २०५० सालमा बैंकिङ करिअर सुरु गरेका बोहरा २०५४ सालमा पश्चिमाञ्चल ग्रामिण विकास बैंकको सातौ तहको अधिकृत बनेका थिए । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकमा २०६८ सालमै बोहराले प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत कामगर्ने मौका पाए ।
त्यसपछि तत्कालिन कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका बोहरा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत, धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत हुँदै केही महिना अघि मिर्मिरे लघुवित्तमा नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।
सुदुरपश्चिको पहाडी जिल्ला डोटीको बडिकेदार–१, रिसेडीमा जन्मिएका बोहराले प्राथमिक तहको अध्ययन गाउँमै पूरा गरेर माध्यममिक तहको अध्ययनका लागि धनगढी झरेका थिए । भारतको देहरादुनबाट प्रमाणपत्र तह (आईकम) अध्ययन पूरा गरेका बोहराले त्रिभुवन विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक गरेका छन् । उनले भारतको कुमाउ विश्व विद्यालयबाट समाजशास्त्रमा स्नात्तकोत्तर अध्ययन गरेका छन् ।