आशा लघुवित्तका सीईओ माथि ‘जाँड खाएर थर्काए’को आरोप, दुलाल भन्छन्– यो सबै झुट

वि.सं.२०८० मंसिर ३ आइतवार ०९:३९
shares

काठमाडौं, ३ मंसिर । आशा लघुवित्त वित्तीय संस्थामा भाँडभैलो सुरु भएको छ । कर्मचारीहरुले आफ्नै कार्यकारी प्रमुख माथि ‘जाँड’ खाएर थर्काको जस्ता गम्भीर आरोप लगाएका छन् । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था गाभिएर आएपछि आशा लघुवित्तमा भाँडभैलो भएको हो ।
यो पनि पढ्नुस् : अनावश्यक दबाब दिएको भन्दै आशा लघुवित्तका २ सय कर्मचारीले दिए सामुहिक राजीनामा
शुक्रबार मात्रै आशा लघुवित्तका करिब २ सय कर्मचारीहरुले संयुक्त रुपमा राजीनामा बुझाएका छन् । यसरी राजीनामा दिनेमा सबै साविक राष्ट्र उत्थान लघुवित्तका कर्मचारीहरु रहेका छन् ।
अनावश्यक टर्चर दिएको, सेवा सुविधामा भेदभाव गरिएको लगायतका आरोप लगाउदै उनीहरुले राजीनामा दिएका हुन् । यतिमात्रै होइन आशा लघुवित्तका निमित्त प्रमुख कार्यकारी अधिकृत बद्री दुलाल माथि नै कर्मचारीहरुले मादक पदार्थ सेवन गरेर शाखा निरीक्षणमा आएको भनेर गम्भीर आरोप समेत लगाएका छन् ।
उनीहरुले कामू सीईओ दूलालले मादक पदार्थ खाएर शाखा निरीक्षणका नाममा थर्काउने गरेको भन्दै आपत्ति जनाएका छन् ।
‘बद्री सरकै नेतृत्वमा विभागीय प्रमुख रविन खतिवडा र शाखा पुष्कर मिश्रले राष्ट्र उत्थानको शाखा निरीक्षण गर्ने बहानामा जाँड खाएर थर्काउने गर्नुभएको छ’ एक कर्मचारीले केटिएम भ्वाइससँग भने, ‘संस्थाको नेतृत्व नै गरेको मान्छेले जाँड खाएर थर्काउन थालेपछि हामीले सहन सकेनौँ र राजीनामा दियौँ ।’
कसरी सुरु भयो बिवाद ?
आशा लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जरमा जाने सहमति भएको थियो । यि दुई संस्थालाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेपछि गत असार ३१ मा एकिकृत कारोबार शुभारम्भ भएको थियो ।
मर्जर सहमति अनुसार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाकी प्रमुख कार्यकारी अधिकृत जया लोहनी मर्जर पछि बनेको आशा लघुवित्तको प्रमुख कार्यकारी अधिकृत बनिन् । साविकको आशा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रि दुलाल भने संस्थाको सेकेण्डम्यान अर्थात डेपुटी सीईओ बने ।
अहिले आशा लघुवित्त वित्तीय संस्थामा भाँडभैलोको समस्या आउनुमा मर्जर नै प्रमुख कारण हो । मर्जर पछि आशा लघुवित्तले कर्मचारीहरुको कुशल व्यवस्थापन गर्न सकेन । मर्जरको केही समयसम्म संस्था राम्रैसँग चल्यो । तर, सधै वातावरण राम्रो हुन भने सकेन ।
साविकका राष्ट्र उत्थानका कर्मचारीहरुको र आशा लघुवित्तका कर्मचारीहरुको तलव लगायत सेवा सुविधामा फरक थियो । आशा लघुवित्तमा कार्यरत कर्मचारीहरुको तलव धेरै थियो भने राष्ट्र उत्थानमा कार्यरत कर्मचारीको तलव थोरै थियो । संस्थामा यस्तो अवस्था आयो कि, सीईओको भन्दा डिसीईओको तलव धेरै ।
सेवा सुविधामा एकरुपताको कुरा संस्थामा जोडतोडले उठ्न थाल्यो । बिवाद चर्किदै गएपछि राष्ट्र उत्थानबाट आएर आशाको सीईओ बनेकी लोहनी आफैले राजीनामा दिइन् । लोहनीले राजीनामा दिएपछि कामू सीईओको जिम्बेवारी दूलालले पाए ।
कामू सीईओ दूलालका अनुसार एक वर्ष भित्रमा सेवा सुविधामा एकरुपता ल्याउने सम्झौता पत्रमै उल्लेख छ । तर, राष्ट्र उत्थानका कर्मचारीहरुले हतार गरेका कारण केही समस्या देखियो ।
समस्याकै बेला कामू सीईओ दूलाल शाखा निरीक्षणमा समेत निस्किएका थिए । कर्मचारीहरुले सीईओ दूलाल ‘जाँड’ खाउर शाखा निरीक्षणमा निस्किएको र आफूहरुलाई अनावश्यक रुपमा टर्चर दिएको आरोप लगाएका छन् ।
यद्यपि, यो आरोप स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । कामू सीईओ दूलालले यि आरोपहरु गलत रहेको दावी गरे । अहिले ज्वरो आएर घरमै सुतिरहेका दुलालले संस्थाको काममा केही दिन यता सक्रियता देखाउन पनि नसकेको बताउछन् ।
‘आरोप लगाउनलाई त जे लगाएपनि भयो नि’ केटिएम भ्वाइसँगको टेलिफोन संवादमा उनले भने, ‘यि आरोपहरु सबै गलत हुन्, उहाँहरुले भने जस्तो केही पनि होइन ।’ आशा लघुवित्तको हेपाइ बढ्नुमा सीईओ लोहनीको पनि कमजोरी छ । उनले आफ्ना कर्मचारीहरुको हकहितका लागि पनि काम गर्नुपर्छ भन्ने सोचिनन् ।
उनले कर्मचारीहरुले जोडतोडले उठाएका विषयहरु लिएर सञ्चालक समितिमा ‘फेस’ गर्नै चाहिनन् । बोरु राजीनामा दिएर बाटो तताउनुलाई उनलाई सजिलो बाटो ठानिन् । केटिएम भ्वाइससँगको कुराकानीमा पनि लोहनीले आफूले आशा लघुवित्त छाडेको बताइन् । तर, थप बोल्न भने उनले चाहिनन् । यसले पनि उनको केही न केही कमजोरी छ भन्ने देखाउछ । ‘मैले आशा लघुवित्त छाडिसकेँ, अहिले मन्दीरमा छु बोल्न मिल्दैन’ भन्दै उनले फोन राखिन् ।