GBIME
Machhapuchhre

जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रिय स्तरमा पहल गर्छु : प्रधानमन्त्री दाहाल

510
shares
NCHL Banner

रुकुमपूर्व, ३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा पहल गरिने बताएका छन् । रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्टरुपमा आफ्ना कुरा राखिने बताए ।

जलवायु परिवर्तनको पीडा कम गर्न अन्तर्राष्ट्रिय कोषबाट सहयोग उपलब्ध गराइँदै आएको भए पनि नेपालले हालसम्म कममात्रै रकम पाएकाले त्यसमा उल्लेख्यरुपमा वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफूले पटकपटक अनुरोध गरेको स्पष्ट पारे । आफ्नो आग्रहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टियो गुटरेसले नेपाल भ्रमण गरेर जलवायु परिवर्तनबाट परेको प्रभावलाई नजिकैबाट हेरेर जानुभएको प्रधानमन्त्री दाहालले उल्लेख गरे। जलवायु परिवर्तनबाट परेको प्रभावबाट दुःख पाएको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने राहत अधिकारको विषय भएको प्रधानमन्त्रीको भनाइ छ ।

नेपालीले गर्दै नगरेको कमजोरीको सजाय पाइराखेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ‘क्लाइमेट फन्ड’बाट ठूलो राहतका लागि सरकारका तर्फबाट दस्तावेज तयार पार्न उच्च अधिकारीलाई निर्देशन दिइएको बताए। उनले मैकोटलाई खुला सङ्ग्रहालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारकोतर्फबाट साथ तथा सहयोग रहने स्पष्ट पारे ।

यस्तै प्रधानमन्त्री दाहालले जडीबुटी तथा कृषि क्षेत्रको विकासका लागि एउटा विशेष परियोजना अगाडि बढाउन पहल गर्ने विश्वास दिलाए । आफ्नो चीन भ्रमणका क्रममा हिमाली क्षेत्रका केही जिल्लामा विशेष परियोजना सञ्चालन गर्ने सहमति भएको जानकारी दिँदै प्रधानमन्त्रीले रुकुमपूर्वको पुथा उत्तरगङ्गा पनि हिमाली पालिका भएकाले एउटा परियोजना अगाडि बढाइने बताए । उनले मैकोटलाई जीवित सङ्ग्रहालय बनाउनका लागि केन्द्र सरकारकोतर्फबाट बजेटको प्रबन्ध गरिने विश्वास दिलाए ।

क्रान्तिको समयमा ठूलो त्याग, तपस्या र बलिदान गरेको यस क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ छ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रको विकासका लागि पनि उत्तिकै महत्त्व दिइएको उनको कथन छ ।