तनहुँका नयाँ उद्योगको पुँजी १ अर्ब २५ करोड

वि.सं.२०८० मंसिर ४ सोमवार १७:२६
576
shares
shares

काठमाडौं, ४ मंसिर । तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कूल पुँजी १ अर्ब २५ करोडभन्दा बढी छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ६०३ नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी १ अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रहेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ ।
त्यसमध्ये स्थिर पुँजी ६५ करोड ९५ लाख ७९ हजार ५ सय र चालु पुँजी ५९ करोड ६१ लाख ५० हजार रहेको कार्यालयका प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दर्ता भएका उद्योगमा ४०५ महिला र २२३ पुरुष गरी छ सय २८ जनाले रोजगारी पाएका छन् । त्यस्तै तीन सय ९२ महिला र दुई सय ७४ पुरुष गरी छ सय ६६ उद्यमी बनेका कार्यालयले जनाएको छ ।
उक्त अवधिमा ५० उत्पादनमूलक उद्योग दर्ता भएकामा १४ करोड ९८ लाख, ३१८ कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता भएकामा ८३ करोड छ लाख ७९ हजार ५ सय, एक सय १९ पर्यटन उद्योग दर्ता भएकामा १२ करोड ६९ लाख ५० हजार, एक सय १० सेवामूलक उद्योग दर्ता भएकामा १३ करोड तीन लाख, तीन पूर्वाधार उद्योग दर्ता भएकामा १ करोड ५० लाख र तीन सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योग दर्ता भएकामा ३० लाख पुँजी रहेको प्रमुख सुवेदीले जानकारी दिए ।
कार्यालयका अनुसार उत्पादनमूलक उद्योगमा ६०, कृषि तथा वन पैदावरमा आधारित उद्योगमा तीन सय २५, पर्यटन उद्योगमा एक सय ३२, सेवामूलक उद्योगमा ९८, पूर्वाधार उद्योगमा छ र सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा सात जनाले रोजगारी पाएका छन् । ती उद्योगको वार्षिक उत्पादन क्षमता रू एक अर्ब २० करोड ४४ लाख १४ हजार एक रहेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ ।
बाह्र लाख राजस्व सङ्कलन
कार्यालयले उद्योग दर्ताबापत १२ लाख २७ हजार नौ सय राजस्व सङ्कलन गरेको छ । उत्पादनमूलकतर्फ १ लाख २१ हजार, कृषि तथा वन पैदावरमा आधारित उद्योगतर्फ ७ लाख १६ हजार नौ सय, पर्यटनतर्फ १ लाख ७० हजार, सेवातर्फ १ लाख ८५ हजार, पूर्वाधारतर्फ १५ हजार र सूचना तथा सञ्चार प्रविधिमा आधारिततर्फ२० हजार राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।
कृषि उद्योगमा आकर्षण
कार्यालयमा उक्त वर्ष उद्योग दर्ता घटे पनि कृषि तथा वन पैदावरमा आधारित उद्योगमा भने आकर्षण बढेको छ । देशको पछिल्लो आर्थिक अवस्थाको असरका कारण उद्योग स्थापना गर्नेक्रम घटेको हुनसक्ने कार्यालय प्रमुख सुवेदीको भनाइ छ ।
आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका उनले बताए। आव २०७९/८० मा जिल्लामा सबैभन्दा बढी कृषि तथा वन पैदावरतर्फ तीन सय १८ उद्योग दर्ता भएका सुवेदीले जानकारी दिए । उनका अनुसार आव २०७९र८० मा वाणिज्यतर्फ नौ सय ९८ फर्म दर्ता भएका छन् भने एक हजार ७२ नवीकरण, २५ नामसारी, छ ठाउँसारी, एक सय ६४ को पुँजीवृद्धि, २२ को नाम परिवर्तन, ६३ को उद्देश्य थप भएका छन् ।
जिल्लामा दर्ता हुने उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ धेरै हुने गर्दछ । कृषि उद्योगतर्फ युवाको आकर्षण बढेकाले यसतर्फ धेरै उद्योग दर्ता भएको प्रमुख सुवेदीको भनाइ छ । उनले भने,‘वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन् । यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता बढेको छ ।’ उनका अनुसार कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारीखेतीतर्फ आकर्षण बढ्दो छ ।
गत आव २०७८/७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएको थियो । त्यसमध्ये उत्पादनमूलक एक सय छ, कृषि तथा वन पैदावरमा आधारित आठ सय १०, पर्यटनतर्फ दुई सय ५६, सेवातर्फ दुई सय ३८ र सूचना प्रविधिमा आधारित चार उद्योग रहेका कार्यालयले जनाएको छ । आव २०७७/७८ मा दुई हजार एक उद्योग दर्ता भएको थियो ।