लघुवित्तमा सकारात्मक कुरा छन्, त्यो केलाउनपर्छ
वि.सं.२०८१ कात्तिक १४ बुधवार ११:२८
shares
काठमाडौं, १३ मंसिर । पछिल्लो समय मान्छे लघुवित्तबारे बुझेर या नबुझेर निकै आलोचना भयो । कतिपयले त लघुवित्तको घोर विरोधमात्रै गरेनन्, लघुवित्त सबै खारेज नै गर्नुपर्ने भन्दै आन्दोलन समेत गरे । विन नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनाल लघुवित्तहरु बढि शहरीकरण भएको भन्ने कुरा विश्वास गर्न नसुहाउँदो रहेको बताउँछन् । प्रस्तुत छ, उनै खनालसँग केटिएम भ्वाइसकर्मी रोजीना काप्रीले गरेको कुराकानीको सम्पादित अंशः
तपाईको नजरबाट लघुवित्तको वर्तमान कस्तो देख्नु हुन्छ ?
लघुवित्त क्षेत्रको मात्र कुरा नभई देशको अर्थव्यवस्थासँगै जोडिएको छ । लघुवित्त राष्ट्र बैंकले नियमन गर्ने संस्था हो । र यो देशको समग्र अर्थव्यवस्थासँग जोडिएको छ । देशको अर्थव्यवस्था नाजुक स्थितिमा रहेको अवस्थामा र वर्तमान राजनीतिक अस्थिरताका कारण लघुवित्त क्षेत्रमा थोरै समस्या आएको छ । देशको अर्थव्यवस्थासँग जोडिएको लघुवित्त, अर्थव्यवस्था कमजोर हुँदा केही समस्या देखिनुलाई स्वभाविक मान्न सकिन्छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास खासै सुखद रहन सकेन भन्ने देखियो । लघुवित्त क्षेत्रका लागि दोस्रो त्रैमास कस्तो रहला ?
सधैँ सकारात्मक सोच्नु पर्छ । सकारात्मक नजिता हात पर्छ । हामीले पनि दोस्रो त्रैमास राम्रै होला भन्ने अनुमान गरेका छौँ । विकास निर्माणका कामहरुदेखि लिएर सबैकुरा संस्थागत रुपमा हुने सबै दोस्रो त्रैमासमै जान्छन् र यो शेयर मार्कैटलाई पनि समस्या परेको कारणले अलिकति भएपनि राहत हुने खालको आउँछ कि भन्ने लागेको छ मलाई ।
अहिले लघुवित्त बढि शहरीकरण भए भन्ने सुनिन्छ ? ग्रामिण भेगको सेवामा खटिनुपर्ने संस्थाहरु किन शहर केन्द्रित हुन खोजेका ?
कस्तो मान्छेले कसरी कुरा गर्यो भन्नेमा भर पर्छ । मान्छेले देख्दा गाउँको संस्था नदेखिएको हो । किनभने गाउँमा हामी नै नगएपछि कसरी देख्छौं त ? शहरमा बसेपछि शहर कै कुरा धेरै देखिन्छ नि । हाम्रो संस्था बकैदा गाउँमै छ । स्याफ्रुमबेशीमा हाम्रो शाखा कार्यलय छ, रसुवामा छ । त्यसलाई शहर भन्ने कि गाउँ भन्ने है । कमर्सियल बैंकहरु त गाउँपालिकामा पुगेका छन् भने लघुवित्त छैन भन्ने चाहि म विश्वास गर्दिन ।
लघुवित्तको रिकभरी रेटको अवस्था कस्तो छ ?
पहिला भन्दा सुधारउन्मुख छ । मान्छेहरुले पनि पहिला सुरुसुरुमा हल्लालाई विश्वास गरे । हल्लाले मात्रै चल्दैन जिविकोपार्जन हुँदैन भन्ने मान्छेले बुझिसकेका छन् । अन्तिममा जुनसुकै वित्तीय संस्थामा वाण्ज्यि बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त नै किन नहोस कर्जा लिन त त्यहिँ जानुपर्छ ।
एक ठाउँमा कर्जा नतिरेसम्म कालोसूचिको व्यवस्था गरेपछि सदस्यहरुलाई गाह्रो पनि भइरहेको छ । त्यो बुझेको कारणले ऋण तिर्ने प्रवृत्ति र मानसिक सोचाइ अलिक फरक भएको छ । रिकभरिको रेट पनि पहिलेभन्दा केही बढेको छ । सधैभरि आन्दोलनको पछि लाग्दैमा हुन्छ भन्ने मान्छेले बुझ्न छाड्यो । यसमा मिडियाको पनि ठुलो हात छ । मिडियाले गर्दा पनि मान्छेले सहि सहि कुरा बुझ्न आए । कर्जा लिएपछि कर्जा तिर्नुपर्छ भन्ने मानसिकताको विकास भइरहेको छ । किनकि गभर्नरले पनि क्लियरले भनेका छन् । त्यसले गर्दा आफ्नो लयमा फर्कन्छ भन्नेमा म विश्वस्त छु ।
बैंकिङ क्षेत्रको बारेमा मनपर्दी बोल्दै हिड्ने दुर्गा प्रसाईंको आन्दोलनले लघुवित्त क्षेत्रमा कस्तो असर पर्ला ?
उहाँको विषयमा मैले कुरै गरिन । म आन्दोलनमा किन जान्छु भनेपछि मेरो काम छैन । मलाई फ्युचरको चिन्ता छैन, म केही पनि गर्दिन भने बरालिएर हिड्ने हो । काम गर्ने मान्छे आफ्नो काममा नै जान्छ । उहाँको पछि मान्छे किन लागे कसरी लागे भनेर मैले केही कमेन्ट नै गर्न चाहिँन । विस्तारै मान्छेले कुरा बुझ्लान् भन्ने चाँहि लागिरहेको छ ।
लघुवित्तका ग्राहकहरु वित्तीय रुपमा कत्तिको सचेत छन् ?
यो क्षेत्रमा भर पर्ने कुरा हो । पहुँच कत्तिको पुगेको छ भन्ने कुराले ठुला असर पार्छ । बुझ्दै नबुझेका भन्ने कुरा त होइनन् । हाम्रा यी ग्राहकहरु कस्ता छन् भने आफुलाई फाइदा हुने कुरा छ भने नबुझेको जस्तो गर्छन् । तिर्नुपर्ने कुरा छ भने यो कुरा हामीलाई थाहा छैन भन्ने प्रवृत्ति छ ।
पैसा लिएपछि सावाँ ब्याज तिर्नुपर्छ भन्ने प्राय जसो सबैले बुझेकै छन् । किनभने हाम्रो देशमा यतिको व्यवस्था आयो । ऋण लिएर मिनाहा भएको त रेकर्ड नै छैन नि । कुनै कुनै अवस्थामा सरकारले मिनाहा गरेको छ । त्यहिँ मिनाहा भएको पैसा पनि सरकारले वित्तीय संस्थालाई कहिँ न कहिँ बाट त दिन्छ नि होइन र । ऋण लानेले चुक्ता गरेन भने जम्मा गर्नेलाई के गर्ने त ?
तपाईको विचरमा वित्तीय चेतना बढाउँन कसको तर्फबाट के गर्नुपर्दछ ?
वित्तीय क्षेत्रमा चेतना बढाउँन हामी पनि आफ्नो ठाउँबाट लाग्नुपर्दछ । खासमा नेपाल राष्ट्र बैंकसँग–सँगै सरकारको ठुलो भूमिका हुन्छ । सरकार आफुलाई आवश्यक पर्ने कुरा हो भने रातारात गर्न पनि तयार हुन्छ । गरिरहेको पनि छ ।
वित्तीय क्षेत्र सुधार गर्न सरकारले कडा खालको निती लिएर अगाडी बढ्नुपर्दछ । ऋण नतिर्नेलाई कालोसूचिमा छ अझ व्यवस्थित गर्दै जानु पर्छ । ऋण नतिर्नेलाई तिर्नुपर्छ भन्ने काम त सरकारको हो नि । वडा वडामा वित्तीय साक्षरता पुर्याउने काम मलाई लाग्छ सरकारको हो । सरकारले विभिन्न माध्ययम अपनाएर यो काम गर्न सक्छ ।
लघुवित्त नाफा कमाउन मात्रै लागे भन्ने सुनिन्छ खास यो के हो ?
यो चाहिँ गलत । देखिने ब्यालेन्स सिट त्यो हो होइन । लघुवित्तले नाफा मात्रै कमाइरहेको छ भने यतिका मान्छे दुर्गा प्रसाईंको पछि कसरी आइपुगे ? त्यो आट हिम्मत कहाँबाट आयो ? लेख्न पढ्न नजानेमा मेम्बरलाई कसरी सिकाए ? कति साक्षरता त लघुसवित्तले सिकाएको पनि छ । त्यो कसरी सम्भव भयो ?
हामीले सतही रुपमा कुरा गछौं । हामी सकारात्मक पक्ष के छ त्यो केलाउन भन्दा नकरात्मक पक्ष के छ त्यो केलाउन तिर बढि लाग्यौं । राम्रो समाचार एउटा छ भने त्यो कसैले लेख्नै चाहेन । खराब समाचार एउटा छ भने सबैंले त्यसैलाई सेयर गर्ने त्यसैलाई प्रमोट गर्दा नकारात्मक कुरा धेरै भयो ।