Nepal Life Banner (End Date 5 Magh 2081)

डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच सहकार्य

2.99K
shares

काठमाडौं, माघ ४ । स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ ।

यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको दूरी, अवस्थिति लगायत अन्य अत्यावश्यक जानकारीसहित ई–पालिका एपमा उपलब्ध हुनेछन् ।

सम्झौता इन्फोसिसका कार्यकारी निर्देशक रमेश क्षेत्री र गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत एवं सह–संस्थापक राज विक्रम महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ई–पालिका एपमा गल्ली म्याप्स समावेश भएसँगै अब पालिकाबासीहरूले उल्लेख्य भौतिक संरचना, कृषि क्षेत्रहरूसमेत सो स्थानका अन्य विवरण सजिलै थाहा पाउने व्यवस्था गरिएको छ ।

‘पालिकाभित्र भएका सार्वजनिक क्षेत्र, भौतिक संरचना र पर्यटकीय क्षेत्रहरूलाई गल्ली म्यापमार्फत हामीले पहिचान दिन खोजेका हौं, पालिकाभित्र कहाँ छ के छ, कुन बाटो हुँदै त्यहाँ पुग्ने भन्ने खालका जानकारी डिजिटल ई-पालिका एपबाट थाहा पाउन सकिन्छ,’ ई-पालिकाका क्षेत्रीले भने, ‘यो हरेक पालिकाले उपयोग गर्नुपर्ने एप हो र यसबाट पालिकाहरूले आफ्नो क्षेत्रलाई पहिचान दिन र चिनाउन सक्छन् ।’

नेपाली कम्पनीले नेपाली भाषामै स्पष्ट बुझिनेगरी बनाएको सो एप्लिकेसनलाई सम्बन्धित पालिकाको सहयोगीको भूमिका निर्वाह गर्नेगरी तयार पारिएको उनले बताए । सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनि यो एप सजिलै र निस्शुल्क प्रयोग गर्ने गरी उपलब्ध रहेको निन्जा इन्फोसिसले जानकारी दिएको छ ।

त्यस्तै, गल्ली म्याप्सका सीईओ महर्जनले नेपालमा डिजिटल प्लाटफर्ममा इन्नोभेटिभ सोच र आत्मनिर्भरता बढाउने दुई स्टार्टअप कम्पनीबीचको साझेदारीमा खुशी व्यक्त्त गरे ।

‘नागरिकका रूपमा धेरैलाई आफ्नो पालिकाले दिने सेवा र त्यसका प्रक्रियाबारे जानकारी हुँदैन, त्यस्तो सेवा डिजिटल रूपमै प्रदान गर्न मिल्ने प्लाटफर्म अत्यावश्यक रहेको सोचेर हामीले साझेदारी गरेका हौं,’ उनले भने, ‘गुगल म्यापमा सहजै उपलब्ध नहुने हाम्रा सांस्कृतिक सम्पदा, स्थानीय निकायका कार्यालय, सार्वजनिक संरचनासमेत गल्ली/गल्लीको जानकारी दिएर प्रयोगकर्तालाई सजिलो बनाउन सकियोस् भनेर गल्ली म्याप शुरु गरिएको थियो । दुई कम्पनीको उदेश्य सार्वजनिक सेवाको स्थानीयकरणमा मिल्न गएकोले सहकार्य सम्भव भयो ।’