GBIME

जयनगर–बर्दिबास रेल्वे : ५२ किमी निर्माण सम्पन्न

738
shares

जनकपुरधाम, १७ माघ । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म जयनगर–बर्दिबास रेल्वेको काम ५२ किलो मिटर सम्पन्न भएको छ ।

पहिलो जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर र दोस्रो कुर्थादेखि भङ्गाहासम्म १७ किलोमिटर सहित जम्मा ५२ किमीभित्र निर्माण सम्पन्न भएर हाल रेल सेवा सञ्चालनमा ल्याइएको छ । तेस्रो खण्डको काम समेत थालिएको छ ।

जयनगरदेखि धनुषाको कुर्था र कुर्थादेखि महोत्तरीको भङ्गाहासम्म क्रमशः पहिलो र दोस्रो खण्डको काम सकिएर सेवा प्रारम्भ भएपछि नेपाल रेल्वे कम्पनीले यो आयोजनाको तेस्रो खण्डको काम थालेको छ । तेस्रो खण्डमा भङ्गाहादेखि बर्दिबाससम्म १७ किलोमिटर दूरीमा अहिले काम थालिएको छ । जम्मा ६९ किलोमिटरको यो आयोजनालाई तीन खण्डमा विभाजन गरिएको थियो ।

दुई खण्डको काम सकिएर सेवा सञ्चालनमा ल्याएपछि अब तेस्रो खण्डको काम थालिएको छ । तेस्रो खण्ड (भङ्गाहादेखि बर्दिबास खण्ड)को १७ किमी दूरीभित्रको कामको प्रारम्भिक चरणमा मुआब्जा वितरण अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झा बताउँछन् । “तेस्रो खण्डको मुआब्जा वितरण अन्तिम चरणमा छ,” उनी भन्छन्, “मुआब्जा वितरण सकिनासाथ निर्माण कार्य अघि बढ्छ ।” यस खण्ड (तेस्रो खण्ड)मा पर्ने १२३ बिघा जग्गामध्ये ८० प्रतिशतभन्दा बढीको मुआब्जा वितरण भइसकेको कम्पनीले जनाएको छ ।

तेस्रो खण्डमा महोत्तरीका भङ्गाहा र बर्दिबास (साबिक किसाननगर र बर्दिबास गाविस) एवं धनुषाको मिथिला (साबिक बेङ्गाडावर गाविस) नगरपालिकाका जग्गा पर्छन् । यस खण्डमा मुआब्जा दिएर अधिग्रहण गरिएका जग्गामा अहिले सर्वेक्षण गरिँदैछ । भारत सरकारको सहयोगमा निर्माण भइरहेको यो आयोजनाको तेस्रो खण्डमा अहिले नेपाल भारतका प्राविधिकको संयुक्त टोलीले सर्वेक्षणका काम गरिरहेका महाप्रबन्धक झाको भनाइ छ ।

यस खण्डमा परेका जग्गाभित्रका संरचना र बालीनाली खाली गर्न सम्बद्ध यसअघिका जग्गाधनीलाई सूचना जारी भइसकेको र त्यसअनुसार घरबाहेकका धेरैजसो जग्गा खाली भएका छन् । अब घरसहित संरचना भएका ठाउँको मुआब्जा दिएर खाली गराइने छ ।

Dhulikhel Eco Resort 1200*100