GBIME

सुन्तलाबाट वार्षिक १० लाख आम्दानी गर्छन् बद्रीप्रसाद अधिकारी

702
shares

भोजपुर, २६ माघ । सुन्तला बिक्रीबाट यहाँका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । भोजपुरको टेम्केमैयुङ–३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएका छन् ।

त्रिचालिस वर्षअघिदेखि ३३ रोपनी क्षेत्रमा व्यावसायिकरुपमा सुन्तलाखेती गर्दै आएका किसान अधिकारीले आफ्नो बगानमा रहेका ३७५ बोट सुन्तलाले आम्दानी दिँदै आएको जानकारी दिए ।

“मैले विगत ४३ वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएको छु”, उनले भने, “सुन्तला बिक्रीबाट रु १० लाख वार्षिक आम्दानी हुन्छ । यसबाट भएको आम्दानीले दुई छोरालाई इञ्जिनियर र एक छोरीलाई बैंकको जागिरे बनाएको छु । मेरो मुख्य आम्दानीको स्रोत सुन्तला बनेको छ ।”

विगतमा यहाँका स्थानीय बजारमा मात्र बिक्री हुने भन्दै अधिकारीले पछिल्लो समय सडक विस्तारका कारण बिक्री वितरणमा सहज बनेको बताए । अहिले बगानबाट नै धरान, इटहरी, विराटनगरलगायतका सहरमा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । उत्पादित सुन्तलाको बिक्रीका लागि बजारको समस्या नभएको उनको भनाइ थियो ।

एकपटक हुर्काएपछि सुन्तलाखेती दिगो आम्दानीको स्रोत बन्ने अधिकारीले बताए । एक पटक बिरुवा हुर्किसकेपछि एक सय वर्षसम्म लाभ लिन सकिने भएकाले भविष्यको पनि राम्रो आम्दानीको स्रोत बन्ने उनको भनाइ छ । “सुन्तलाखेती भविष्यको राम्रो आम्दानीको स्रोत हो”, उनले भने, “एक पटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ । सामान्यरुपमा बगानको हेरचाह मात्र गरे हुन्छ, धेरै दुःख गर्न पर्दैन ।”

व्यावसायिक सुन्तला खेतीमा लागेका अधिकारी जिल्लाको एक उदाहरणीय किसान बनेका छन् । आफँैले बिक्री गर्न ठूला बजारसम्म लैजानसके हालको भन्दा राम्रो मूल्य लिन सकिने उनको भनाइ छ ।

सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने किसान अधिकारीको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै युवा व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उनले बताए ।

Dhulikhel Eco Resort 1200*100