मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : अधिकांश यथावत, अर्थतन्त्र चलायनमान बनाउने गरी नीतिगत परिवर्तन
वि.सं.२०८० माघ २९ सोमवार ११:०४
shares
काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सोमबार गर्दैछ । सोमबार साझ सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले आवश्यक तयारी गरेको हो ।
केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको समीक्षा सोमबार हुनसक्ने सम्भावना रहेको बताए । ‘बोर्डले पारित गर्यो भने सार्वजनिक हुन्छ, बोर्ड बैठक कतिबेला बस्छ भन्ने चाहिँ मलाई जानकारी छैन’ केटिएम भ्वाइससँग प्रवक्ता भट्टले भनेका छन् ।
केन्द्रीय बैंकको अर्को श्रोतले सोमबार साझका लागि सञ्चालक समिति बैठक बोलाएको पुष्टि गरेको छ । साझ बस्ने सञ्चालक समितिको बैठकमा मूल एजेण्डाका रुपमा नै मौद्रिक नीतिको समीक्षा रहेको छ ।
अधिकांश विद्यमान व्यवस्था यथावत
चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति र पहिलो त्रैमासिक समीक्षामा भएका अधिकांश नीतिहरुलाई नै निरन्तरता दिने केन्द्रीय बैंकको तयारी छ । यद्यपि, केही नीतिगत व्यवस्थाहरु भने परिवर्तन हुनेछन् । पहिलो त्रैमासिक समीक्षा र हालको अवस्था फरक रहेकाले केही नीतिहरु परिवर्तन गर्ने केन्द्रीय बैंकको तयारी छ ।
पहिलो त्रैमासिकसम्मको मुलुकको अर्थतन्त्रको अवस्था फरक थियो । बाह्य क्षेत्रको दवावमा अर्थतन्त्र थियो । बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी योग्य रकम (तरलता), ब्याजदर लगायतका समस्याहरु थिए ।
‘तर अहिले अवस्था फरक छ, बैंकहरुमा लगानी नभएर रकम थुप्रिएको छ भने, ब्याजदर पनि लगतार घट्दो क्रममा रहेको छ’ केन्द्रीय बैंकका एक अधिकारीले भने, ‘अन्य क्षेत्रमा पनि केही व्यवस्थाहरु परिवर्तन गर्नुपर्नेछ, मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीतिको समीक्षा हुन्छ ।’