GBIME

‘महिला उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउन आवश्यक छ’

882
shares

काठमाडौं, ४ फागुन । महिला उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउन आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अघुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वयमा पहिलोपटक भैरहवामा शुरु भएको दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ बोल्दै यस्तो बताएका हुन् ।

‘महिला उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउन आवश्यक छ’, श्रेष्ठले भने, ‘त्यसका लागि परियोजना धितोमा कर्जा, सहुलियतपूर्ण कर्जा र पुनस्कर्जाजस्ता सुविधा सहज र प्रभावकारी बनाइनुपर्ने विषयमा महासंघले सरोकारवालाई पटक(पटक ध्यानाकर्षण गराउँदै आएको छ ।’

महिला उद्यमशिलताको बहुआयामिक फाइदा भएको र रोजगारी, आर्थिक वृद्धि र उद्यशिलतासँग मात्रै जोडिएको विषय नभई समानता र समन्यायिक समाज निर्माण समेत भएको श्रेष्ठको भनाई छ ‘हाल नेपालमा २७ प्रतिशत व्यवसाय महिलाको नाममा छन्’, श्रेष्ठले भने, ‘तर यसमा सक्रियतापूर्वक लागेका महिलाको संख्या कम छ । हाम्रो समाजको समुन्नत विकास हुन नसक्नुमा यो पनि एउटा कारण हो ।’

महिलाको नाममा घरजग्गा राख्दा छुट दिने योजना सफल भए पनि उद्यमशीलतामा दिइएको छुटले नतिजा दिन नसकेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ थियो ।

‘दर्तामा राजश्व केहि छुट भए पनि व्यवसाय निरन्तरताका लागि सहुलियत दिन सकिएको छैन,’ श्रेष्ठले भने, ‘सहुलियत कर्जा पनि रोकिएको छ । व्यवसाय भनेको निरन्तर चल्ने प्रक्रिया हो । त्यसैले नीतिगत स्थायित्व आवश्यक छ ।’

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै गर्दा विशेषगरि युरोप र अन्य बिकसित देशमा नेपालले पाइरहेको भन्साररहित सुविधा बन्द हुने र त्यसबाट साना र विशेषगरि महिला उद्यमीहरू बढी प्रभावित हुने विषयमा ध्यान दिन आवश्यक रहेको श्रेष्ठको भनाई छ ।