बढ्यो लघुवित्तको खराब कर्जा, राष्ट्र बैंक भन्छ ‘समाधान १, २, ३ रिकभरी नै हो’
वि.सं.२०८० फागुन ९ बुधवार १२:२६
shares
काठमाडौं, ९ फागुन । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५७ वटा लघुवित्तको खराब कर्जाको अनुपात ६.८५ प्रतिशत देखिएको छ । विगत भन्दा चालु आवको ६ महिनामा खराब कर्जा बढेको देखिएको छ ।
२०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्तको कुल कर्जा तथा सापटीमध्ये निष्कृय कर्जा १ अर्ब २२ करोड रुपैयाँ अर्थात २.२५ प्रतिशत रहेको छ । २०७९ पुस मसान्तमा यस्तो अनुपात ०.८७ प्रतिशत मात्र रहेको थियो । चालु आव पहिलो त्रैसमासको तुलनामा दोस्रो त्रैमासमा (३ महिनाको अवधिमा) निष्क्रिय कर्जा १८५.६५ प्रतिशतले बढेको छ ।
२०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा २८ अर्ब ८९ करोड अर्थात ७.४९ प्रतिशत रहेको छ । चालु आवको पहिलो त्रैसमासको तुलनामा दोस्रो त्रैमासमा (३ महिनाको अवधिमा) खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जाको वृद्धिदर ४०.७८ प्रतिशत छ ।
त्यसरी हेर्दा लघुवित्तको खराब कर्जा बढ्दो देखिएको छ । समग्र लघुवित्तको अन्य सूचक राम्रो देखिएको भएपनि खराब कर्जा बढेकोमा भने राष्ट्र बेंकले समेत चिन्ता व्यक्ति गरेको छ ।
‘लघुवित्तको सार्वजनिक भएको समग्र तथ्यांक हेर्दा सबै चिज राम्रो नै देखिएको छ’, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा लघुवित्त सुपरिवेक्षण विभागका प्रमुख रेवतिप्रसाद नेपालले केटिएम भ्वाइससँग भने, ‘विगतमा भन्दा खराब कर्जा बढेको छ ।’
सुपर लघुवित्तले बाहेर अन्य लघुवित्तले राम्रै आस्था भएको र सुपरलाई पनि कारबाहिको लागि निर्देशन दिएको नेपालले बताए । ‘श्रृजनशिल र समाज लघुवित्तले राष्ट्र बैंकको निर्देशन उल्लघन गरेको विषय छ त्यो सामान्य विषय हो’, नेपालले भने, ‘काम गर्दा कहिलेकाही यता उता, केही सामान्य त्रुटी हुन्छ, त्यो क्रमशः सुधार गर्दै लग्नु पर्छ ।’
समाधान १, २, ३ रिकभरी : राष्ट्र बैंक
लघुवित्तमा देखिएको अहिलेको खराब कर्जा समस्याको समाधान स्वयम लघुवित्त आफैले गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ । दुर्गा प्रसाई र मणिराम ज्ञावाली जस्ता व्यक्तिको आन्दोलनका कारणले गर्दा पनि केही व्यक्तिले कर्जा नतिरेको निर्देशक नेपालको भनाई छ ।
‘केही व्यक्तिहरु अझै कर्जा मिनाहा भईहाल्छ कि भनेर पनि कर्ज नतिरेको अवस्था छ’, नेपालले भने, ‘पछिल्लो समय देखिएको आर्थिक मन्दिका कारण केही व्यक्ति साच्चिकै अप्ठ्यारोमा पनि परेका छन्, उनीहरुलाई लघुवित्तले पनि समय दिएर, ऋणीसँग छलफल गरेर ऋण असुल्नु पर्छ ।’
समग्रमा लघुवित्तले कर्जा रिकभरिमा ध्यान दिएमा अहिले देखिएको खराब कर्जाको समस्या समाधान हुने नेपालको भनाई छ । ‘खराब कर्जाको समाधान भनेको १, २, ३, रिकभरि नै हो ।’ निर्देशक नेपालले भने ।