लगनगाठो कस्ने पक्का भएपछि श्रृजनशील–मानुषीको ब्रेकअप, प्याचअप गराउन राष्ट्र बैंक सक्रिय
वि.सं.२०८० फागुन ३० बुधवार १५:३५
shares

काठमाडौं, ३० फागुन । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तलाई मर्जर गराउन राष्ट्र बैंक सक्रिय भएको छ । मानुषीले श्रृजनशीलको वित्तीय विवरण खराब भएको भन्दै राष्ट्र बैंकलाई डिमर्जमा जान अनुमति मागेको थियो ।
तर, राष्ट्र बैंकले भने डिमर्जर गर्ने तर्फ भन्दा पनि मर्ज गरेर काम गराउने तर्फ नै केन्द्रित भएको देखिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका एक अधिकृतका अनुसार दुवै लघुवित्तलाई छलफल गराएर मर्ज गराउने राष्ट्र बैंकको तयारी रहेको छ ।
राष्ट्र बैंकले २ चरणमा छलफल गरेर दुवै लघुवित्तलाई मनाउने तयारी रहेको विभागका अधिकृत बताउछन् । ‘पहिलो चरणमा वान टु वान दुवै लघुवित्तसँग कुरा गर्ने तयारी रहेको छ’, ति अधिकृतले केटिएम भ्वाइससँग भने, ‘दोस्रो चरणमा दुवै लघुवित्तलाई राखेर छलफल गर्ने हाम्रो(राष्ट्र बैंक) तयारी छ ।’
दुई लघुवित्तको मर्जरको तयारी धेरै अगाडि बढीसकेकाले दुई कम्पीकलाई मिलाएर मर्जमै लगिने तयारी रहेको ति अधिकृत बताउँछन् । ‘राष्ट्र बैंकको पनि समय खर्च भएको छ, त्यो डकुमेन्टहरु तयारी गर्दा पैसा पनि खर्च भएको छ’, अधिकृत भन्छन्, ‘त्यो संस्थाको पनि भएको छ, दुवै संस्थाको साधरणसभाले मर्जमा जाने कुरा पास गराएको हो, त्यसले गर्दा मर्जरमा लग्ने नै हाम्रो प्रयास हुन्छ ।’
मर्जरको प्रक्रिया अगाडि बढीसकेकाले डिमर्जमा एक्लोटि रुपमा पनि जान नपाउने ति अधिकृत बताउँछन् । ‘मर्जरको प्रक्रिया अगाडि बढीसकेको छ’, उनले भने, ‘दुवैले मर्जरमा नजाने भन्दा अलग कुरा हो तर, एउटाले मात्र भन्दैमा त्यस्तो हुँदैन ।’
दुवैले सहमतिका आधारमा डिमर्जमा जाने भएमा पनि उनीहरु दुवैले कारबाहीको भागेदार हुनुपर्ने राष्ट्र बैंकको भनाई छ । ‘पर्याप्त आधार भयो भने डि मर्जरमा जाने कुरा होला तर त्रैमार्सिक रिपोर्टकै आधारमा त त्यस्तो हुँदैन’, ति अधिकृतले भने, ‘यदि डिमर्ज भएमा पनि शाखा विस्तार गर्ने नपाउने, बोनस बाढ्न नपाउने, राष्ट्रिय स्तरको मान्यता पाएको खारेज हुने जस्ता कुराहरु हुन्छन् ।’
यसरी मर्जको अन्तिम तयारीमा डिमर्जमा जानु गलत प्राक्टिस भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा लघुवित्त सुपरिवेक्षण विभागका प्रमुख रेवतिप्रसाद नेपाल केटिएम भ्वाइसँग भन्छन् ।
‘त्यसरी एक्लौटि रुपमा डिर्मजमा जान मिल्दैन, यो गलत प्राक्टिस भयो’, नेपालले केटिएम भ्वाइससँग भने, ‘दुबैलाई बोलाएको छ, छलफल गरेर यसको समाधान निकाल्छौँ ।’
मानुषी र श्रृजनशीलले मर्ज हुन २०७९ चैत २ गते समझदारी पत्र हस्ताक्षेत्रर गरेका थिए । दुई संस्था बीचको सहमति अनुसार श्रृजनशिलको १०० प्रतिशत र मानुषीको ७५ प्रतिशत हुने गरि मर्ज हुने सहमति भएको थियो । दुई लघुवित्तले २०८० पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरी गत माघ ७ गते अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक र नेप्सेलाई मर्ज हुँनु स्वीकृतिका लागि पठाएका थिए ।
तर, लघुवित्तको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुँदा मानुषीले श्रृजनशीलको वित्तीय विवरण खराब भएको भन्दै डिमर्जरमा जान राष्ट्र बैंकलाई अनुमति मागेको थियो ।