बाजुरामा शैक्षिकसत्रआगवै पुग्यो पाठ्यपुस्तक
![KTM Voice KTM Voice](https://www.ktmvoice.com/wp-content/themes/new_theme_ktmvoice/images/small_icon.jpg)
वि.सं.२०८० चैत १८ आइतवार १२:५७
shares
![image image](https://i0.wp.com/www.ktmvoice.com/wp-content/uploads/2024/03/1-1.jpg?fit=1920%2C1080&ssl=1)
बाजुरा, १८ चैत नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् ।
जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी र बडीमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल गाउँपालिकाका सामुदायिक विद्यालयमा जनकशिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पु¥याएको हो ।
पूर्वी उत्तरी भेगका चार पालिकाका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको छ । यहाँका बूढीनन्दा नगरपालिका तथा हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा रारा कर्णाली पुस्तक पसल कोल्टीले जिम्मेवारी लिएसँगै वितरण सुरु गरिएको जनाइएको छ ।
प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पुस्तक पाइएको पशुपति माविका प्रधानाध्यापक दयाराम जोशीले बताए ।
शैक्षिकसत्र सुरु हुनुभन्दाअगावै पाठ्यपुस्तक पुगेको भन्दै केही अपुग भएमा विद्यार्थी भर्नापश्चात् सोहीअनुसार पुनः माग गर्न सकिने प्रअ जोशीले बताए । समयमै पुस्तक पुगेसँगै शैक्षिकसत्र सहजरुपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
विगतका वर्षमा शैक्षिकसत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो । आगामी शैक्षिकसत्र २०८१ का लागि भने विद्यालयमा चैत १५ गते नै पुस्तक पुगिसकेको प्रअ जोशीले जानकारी दिए ।
जनकशिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गते सुदूरपश्चिम प्रदेशको बाजुराबाट वितरण सुरु गरेको जनाएको छ । जिल्लामा एक लाख १० हजार ३७ थान पाठ्यपुस्तक पुगिसकेको कार्यालयका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार बाजुरामा आठ बिक्रेतामध्ये सात जनाले पुस्तक लिइसकेका छन् भने एक जना लिने क्रममा छन् ।
बाजुरामा विसं २०८१ का लागि अनुमानित एक लाख २७ हजार आठ सय छ थान पाठ्यपुस्तक रहेको कार्यालयका प्रमुख कुँवरले बताए । सोमध्ये ८६ प्रतिशत पुस्तक जिल्लामा पुगिसकेका भन्दै बाँकी केही दिनमा पुग्ने उनको भनाइ छ ।