GBIME

खुर्सानीखेतीमा सङ्क्रमणको समस्या

546
shares

चितवन, २२ चैतः यहाँका किसानले लगाएको खुर्सानीखेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ । यहाँ लगाइएको भेँडे खुर्सानीमा यो कीराको सङ्क्रमण देखिएको हो ।

मङ्सिर पहिलो साता खैरहनीमा देखिएको यो रोग अहिले जिल्लाभरि नै प्रकोपका रूपमा देखिएको छ । खैरहनी नगरपालिकामा मङ्सिर २८ गते देखिएको यो रोग थ्रिप्स कीराका कारण लाग्ने गर्दछ ।

खैरहनी नगरपालिका वडा नं १२ का नवीनकुमार श्रेष्ठले एक बिघा १० कठ्ठा क्षेत्रफलमा लगाउनुभएको खुर्सानीमा यो रोगको सङ्क्रमण देखिएको छ । उनले भन्नुभयो, “रोगका कारण फल नलाग्ने, बोटमा फूल नखेल्ने समस्या भयो ।” रोगका कारण यसवर्ष उत्पादनमा पनि कमी आउने उहाँले बताए ।

खैरहनी नगरपालिका वडा नं १ ज्यामिरेमा खुर्सानीखेती गर्दै आउनुभएका अर्जुन भुसालले यतिखेर खुर्सानीको बोट उखालेर फाल्न थालेको बताए । उनले भने “अघिल्लो वर्ष वैशाखसम्म उत्पादन लिएको थिएँ । अहिले रोगका कारण समस्या भएर चाँडै नै फाल्नुपर्यो ।”

विगतमा एक कठ्ठामा ३२ क्विन्टलसम्म उत्पादन भएको खुर्सानी अहिले घटेर २२ क्विन्टल हाराहारीमात्रै सीमित भएको उनले बताए। फलमा दाग लाग्ने, बिरुवामा फूल नखेल्नेजस्ता समस्या यो रोगबाट हुने गरेको उनले गुनासो गरे । रोग लागेपछि फल सानो हुने, दाग लागेपछि बजार नपाउनेजस्ता समस्या बढ्ने गरेको उन्ले बताए ।

व्यावसायिक कीट विकास फार्म भण्डाराकी वरिष्ठ बाली विकास अधिकृत पूर्णिमा क्षेत्रीले यो रोग लागेपछि उत्पादनमा ६० देखि ९० प्रतिशत गिरावट आउने बताए । उनले भने, “नेपालमा नै पहिलोपटक यो रोग देखिएको छ । यसलाई नियन्त्रण गर्न नसक्ने हो भने एक सय चार प्रकारका बोटबिरुवामा प्रभाव पार्ने देखिन्छ ।”

यस कीराले खुर्सानी, सिमी, भण्टा, मेवा, आलु, स्ट्रवेरीलगायतका बोटबिरुवामा आक्रमण धेरै गर्ने उनले बताए । यस कीराका कारण एक चौथाइसम्म उत्पादन घट्ने गरेको छ । जिल्लामा एक सय ६५ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिने गरेको उनले बताए । पूर्वी चितवनमा देखिएको यो समस्या अहिले जिल्लाभरि नै फैलिएको उनको भनाइ छ ।

प्लान्ट क्वारेन्टिइ तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत डा देवराज अधिकारीले कीराबाट बचावटका लागि बाली चक्र अपनाउनुपर्ने बताए। गर्मी समयमा गहिरो खनजोत गरी माटोमा रहेका थ्रिप्सका प्युपाहरूलाई नाश गर्ने, निरन्तर गोडमेल गर्ने, एकैपटक बाली लगाउने, चरणबद्ध रोपाइँ नगर्ने, नाइट्रोजन र फस्फोरस मलको साथै पोटासयुक्त मलखादको सन्तुलित मात्रामा प्रयोग गर्न उनले सुझाव दिए् । यसैगरी कीराले क्षति गरेको पात, फलहरू सङ्कलन गरी नष्ट गर्ने, कीराबाट साह्रै आक्रान्त भएमा बोट उखाल्ने र जलाउने गर्नुपर्ने उनले बताए ।

स्प्रिङ्गलर सिँचाइ प्रणाली अपनाउने, मित्र कीराहरूको संरक्षण हुने गरी निमजन्य विषादी प्रयोग गर्ने गरेमा बाली जोगाउन सहज हुने उनले सुझाव दिए् । रासायनिक विषादी प्रयोग गर्नुपरेमा प्राविधिकको परामर्शअनुसार मात्र काम गर्नुपर्ने उनको भनाइ थियो ।